बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई मधेस सरकारले एक लाख दिने

गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाको परिवारलाई मधेस सरकारले एक लाख रुपैयाँ राहत दिने भएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार विपदमा परेर मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ दिइनेछ।उनले बाढीपहिरो र डुबानपीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गरिने बताए। यसका लागि आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको उनले बताए।उनले बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनर्स्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहहरूलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री सिंहले विपद्का बेला मधेसमा खोज, उद्धार एवम् तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मी तथा अन्य क्षेत्रलाई धन्यवाद दिए।मुख्यमन्त्री सिंहले यसअघि नै बर्खाबाढीबाट प्रभावित गाउँबस्तीमा पुनर्स्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्यक्षेत्र बनाई काम गर्दै आएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थालाई आह्वान गरेका थिए।

बर्खा र बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण संकलन भइरहेको उनले बताए।राहत तथा पुन:स्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालयहरू तथा मातहतका निकायलाई उनले निर्देशन दिएका छन्।

 

सेयर गर्नुहोस्