मोरङ –
जिम्मेवारी सम्हालेको ८ महिना नबित्दै मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएका छन्।
कार्कीको स्थानमा अर्का प्रहरी उपरीक्षक राजन लिम्बूले कार्यभार सम्हालेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार प्रहरी उपरीक्षक कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो। उनका अनुसार विषयगत रुपमा केही कुरा बुझ्न आवश्यक रहेको हुँदा र छानबिन गर्नुपर्ने भएको हुँदा कार्कीलाई प्रधान कार्यालय बोलाइएको हो।
प्रहरी उपरीक्षक कार्की २०८० फागुन २ गते जिल्ला प्रहरी प्रमुख भएर मोरङ आएका थिए। उनका स्थानमा आएका लिम्बू प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका थिए। प्रहरी उपरीक्षक कार्कीविरुद्ध प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखसँग मिलेर तस्करीको काम अघि बढाएको आरोप लाग्दै आएको थियो।