नवलपुर
नवलपुरको कावासोती–१ बालुवाडाँडामा बलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । आज शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
घाइतेहरुलाई उद्दार गरेर अस्पताल पुर्याइएको ढकालले जानकारी दिए । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । २५ जना घाइतेहरु मध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए । घटना स्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्दार गरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।