पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ ।शनिबार पोखरामा भएको विरोध प्रदर्शनको सिलसिलामा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको बताए ।
सहकारीको रकम गोर्खा मिडिया प्रालिमार्फत अपचलन भएको र त्यसमा उनको संलग्नता रहेको आशंकामा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो ।
सहकारी वचत अपचलन संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको देखाएको तर सरकारले गोर्खा मिडिया प्रालिमा सहकारीबाट गएको ६५ करोडको विषयलाई मात्र उछालेको उनले बताए ।
‘एउटामा मात्र लक्षित हुँदै गर्दा, यो क्षेत्रगत समस्यामा सरकारको प्राथमकिता छैन, यो एउटा कुण्ठा हो, प्रतिशोध हो’, उनले भने, ‘यो त १ प्रतिशत पनि होइन, ९९ प्रतिशतको किन चर्चा गर्नुहुन्न ?’
रविलाई पक्राउ गरेर प्रधानमन्त्रीले आफ्नो कुण्ठा मात्र पोखेको सहप्रवक्ता झाले बताए । सहकारी समस्यालाई सरकारले समग्रमा हेर्नुपर्ने भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सहयोग गर्न तयार रहेको बताए ।