काठमाडौँ –
कात्तिक २ गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेको रास्वपा सभापति रवि लामिछानेलाई छिटो बाहिर ल्याउन पार्टी नेता कार्यकर्ताले हारगुहार गरिरहेका छन्।
राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको भन्दै रास्वपाका कार्यकर्ताले सडक आन्दोलनसमेत गर्दै आएका छन्।
मंगलबार बालुवाटार नै पुगेर रास्वपाका नेता कार्यकर्ताले सभापति पक्राउको विरोधमा प्रर्दशन गरे। विरोधसँगै रास्वापका नेताहरुले औपचारिक रुपमै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेर चाँडो बाहिर निस्कने वातावरण बनाइ दिन आग्रह गरेका छन्।
तर प्रधानमन्त्री र गृहमन्त्रीबाट रास्वापका नेताहरु ‘तीतो’ जवाफ पाएका छन्। मंगलबार बेलुका ओली भेट्न बालुवाटार पुगेका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई ओलीले आफूले केही गर्न नसक्ने जवाफ दिएका छन्।
लामिछानेले पक्राउ परे लगत्तै सामाजिक सञ्जालबाट ‘सरकार मार्यो, हामीलाई जुठ्यो पर्यो’ भन्दै दिएको अभिव्यक्ति, चितवनमा आफ्नो पुत्ला जनाएको र प्रर्दशनका क्रममा आफूमाथि भएको गालीगलोजको प्रसंग झिक्दै ओलीले असन्तुष्टि जनाएका थिए। आफूहरुले ३० वर्षअघि गरेको आन्दोलनको स्वरुप नयाँ दलबाट हुनु स्वभाविक नभएको भन्दै छेडखानीसमेत गरेका थिए।
सरकारले प्रतिशोध साधेको भन्ने रास्वपाको भनाइप्रति पनि ओलीले आपत्ति जनाएका थिए। आफू व्यक्ति केन्द्रित छानबिनको पक्षमा सुरुदेखि नै नरहेकाले छानबिन समिति बनाउन नमानेको प्रसंग झिक्दै अब प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताए।
ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म त सुरुमै यस्तो छानबिन समिति बनाउन हुँदैन भन्ने पक्षमा थिए। तपाईंहरु नै तयार हुनुभएछ। अब छानबिन समितिको प्रतिवेदन कार्यान्वनय गर्नु सरकारको दायित्व हो। यसमा मैंले चाहेर पनि केही गर्न सक्दिन।’
अर्यालले प्रधानमन्त्रीसँग समसामयिक विषय कुरा भएको जानकारी दिए। ‘संसदको चौथो ठूलो दलको नेताका रुपमा हामीले प्रधानमन्त्रीलाई भेटेका हौँ। भेटमा समसामयिक विषयका कुराकानी भए, उनले अगाडि भने, ‘शान्तिपूर्ण आन्दोलनको बारेमा जानकारी गरायौँ। चितवनको घटना तयारी हुँदाहुँदै असावधानीवस भएको कुरा भन्यौँ।’
गृहमन्त्री लेखकलाई पनि अर्यालले भेटेर कुराकानी गरेका छन्। सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा लेखक कडा रुपमा प्रस्तुत भए। रास्वपाकी सांसद डा. चन्दा कार्कीले लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न अवस्था बनाइ दिन आग्रह गरिन्।
कार्कीले भनिन्, ‘रवि लामिछाने यो समितिको सदस्य पनि हुनुहुन्छ। उहाँमाथि विश्वास गर्नेहरूले चासो र चिन्ता व्यक्त गर्नु स्वाभाविक नै हो। १२ लाख नेपालीले पत्याएको देशको चौथो ठूलो शक्तिको नेतृत्वलाई हिरासतमा राख्दा चिन्ताको विषय हो। उहाँ भागेर कतै जाने अवस्था होइन। म लामिछानेज्यूलाई थुनाबाहिर राखेर न्यायिक प्रक्रिया अगाडि बढाइदिन गृहमन्त्रीज्यूसँग आग्रह गर्दछु।’
कार्कीलाई गृहमन्त्री लेखकले न्यायिक प्रक्रिया ‘अनुहार हेरेर नभइ तथ्य प्रमाण’का आधारमा अघि बढ्ने जवाफ दिए।
‘सरकारले अपराधको अनुसन्धानमा कसैलाई पनि काखापाखा गर्दैन। सत्ता पक्ष प्रतिपक्ष हेरिन्न। मुख हेरिन्न, तथ्य हेरेर गरिन्छ, लेखकले समितिमा अगाडि भने, ‘प्रमाणले जताजता लान्छ, अनुसन्धान त्यतात्यता जान्छ। सरकारले कानुनविपरीत कसैलाई प्रतिशोध साध्ने, दुःख तथा हैरानी दिने काम गर्दैन। अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुन्छ।’
अनौपचारिक रुपमा पनि रास्वपाका नेताहरुले सत्तारुढ दलका विभिन्न तहका नेताहरुसँग त्यसका लागि हारगुहार गरिरहेका छन्। अर्यालले परराष्ट्रमन्त्री आरजु राणासँग पनि भेटेर अवस्था सहज बनाउन खोजिरहेका छन्। तर सरकार र सत्तारुढ दलका नेताहरुबाट पाएको जवाफले रास्वपा नेताहरु निराश भएका छन्।
अर्यालले आफूहरुले प्रधानमन्त्रीदेखि सबैलाई बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गरिरहेको देश सञ्चारसँग बताए। उनले भने, ‘हामीले प्रधानमन्त्रीदेखि तपाईंलाई पनि भन्दा उहाँ भागी जाने व्यक्ति होइन। बाहिर राखेर पनि अनुसन्धान गर्नुहोस् भनिरहेका छौँ। गर्ने नगर्ने न्यायालयको, प्रहरीको कुरा हो।’
सरकारसँग हारगुहार गरिरहेकै बेला लामिछानेको हिरासत बसाइ अनिश्चित भएको संकेत गर्ने सूचना आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गर्यो। लामिछानेमाथि दुव्र्यवाहार भएको भन्ने दाबीको खण्डन गर्दै कास्की प्रहरीले निकालेको सूचनामा उनी सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानमा समेत रहेको बतायो।
सहकारी ठगी र संगठित अपराध मुद्दाको अनुसन्धानमा रहेका लामिछानेमाथि अर्को गम्भीर खालको सम्पत्ति शुद्धिकरण मुद्दामा समेत थपिँदा सरकार उनीप्रति ‘थप कठोर’ बनेको सन्देश दिएको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि) निवारण ऐन, २०६४ अनुसार उनलाई अनुसन्धानका लागि ९० दिनसम्म थुनामा राख्ने बाटो खुला भएको छ। संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने म्याद हुन्छ भने सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानको म्याद ९० दिने हुने कानुनी व्यवस्था छ।
जसले गर्दा लामिछानेमाथि माघ ३ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ। त्यस्तै सहकारी ठगी तथा संगठित अपराधकै मुद्दामा लामिछानेमाथि रुपन्देहीमा पनि अनुसन्धान सुरु भएको छ। लामिछाने र गोरखा मिडियाका अरु सञ्चालकहरु जिवी राई, छवि जोशीसहित १२ जनालाई पक्राउ गर्न रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ।
उनीहरुमाथि पर्साको सानो पाइला सहकारी ठगीमा पनि अनुसन्धान गर्ने तयारीमा प्रहरी रहेको बुझिन्छ।
रविलाई तिहारपछि अदालत पेश गरिने
कात्तिक २ गते पक्राउ गरेका लामिछानेलाई ८ गते थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। जसअनुसार उनलाई भोलि (बिहीबार) अदालतमा उपस्थित गराउनु पर्ने हो।
तर बिहीबारदेखि नै बिदा सुरु हुँदा लामिछानेलाई अब तिहारपछि मात्रै अदालतमा उपस्थित गराइने भएको छ। लामिछानेका कानुन व्यवसायी यज्ञ न्यौपानले भने, ‘१५ गते बिदा भएकाले अब अड्डा खुलेपछि नै उहाँलाई अदालत उपस्थित गराइन्छ। सात दिनको समय बिहीबार मात्रै सकिन्छ।’
तिहारपछि मंगलबार मात्रै सरकारी कार्यालय खुल्ने हुँदा म्याद नै नथपिएको अपस्थामा लामिछाने थप पाँच दिन थुनामा रहने भएका छन्।