काठमाडौं-
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वका तीन दिन (१३-१५ मंसिर) पशुपतिनाथको मन्दिर वरपरका क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बेच्न निषेध गरेको छ।
बालाचतुर्दशी पर्व ( शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर बिहीबारदेखि शनिबारसम्मका लागि पशुपतिनाथको पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले मासु र मदिरा निषेध गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले पशुपति आसपासका क्षेत्रमा मदिरा, नशालु पदार्थ, माछामासु बिक्रिवितरण, उत्पादन, सेवन, ओसारपसार र भण्डारणमा रोक लगाएको हो।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तोकिएका चार किल्लाभित्र मासु, मदिरा र नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको बिहीबार जनाएका छन् ।