भरतपुर ।
भरतपुर महानगरपालिका–२३ बस्ने डोलराज सुवेदीको घरबाट गत जेठ २० गते दिउँसो अन्दाजी १ बजे करिब २८ किलोको खसी चोरी भयो । चोरी भएको खसीको बजार मूल्य १५ हजार ६८० रूपैयाँ पर्ने थियो । भरतपुरका विभिन्न स्थानमा खसीबोका चोरीका घटना भइरहेका थिए । तर, चोर फेला पर्न सकेको थिएन ।
गत कात्तिक १६ गते राति १ बजेको समयमा भरतपुर–१४, पकौडीस्थित सडकछेउमा अटो र मोटरसाइकल रोकेर बसेका अशोक चेपाङ र दिलकुमार चेपाङलाई गस्तीका प्रहरीले सोधपुछ गर्न खोजे । इच्छाकामना गाउँपालिका–७ बस्ने अशोक र दिलकुमार प्रहरीलाई देखेर भाग्न खोजे । प्रहरीले उनीहरुलाई भाग्दाभाग्दै समाउन सफल भयो ।
भाग्दाभाग्दै समातिएका उनीहरुले प्रहरीको केरकारपछि खसीबोका चोरी गर्न आएको खुलाए । उनीहरुले खसीबोका चोरीमा अन्य दुई जना पनि संलग्न रहेको बताएपछि खसीबोका चोरीमा संलग्न गिरोह पत्ता लगाउन प्रहरी सफल भयो ।
भरतपुरका विभिन्न २२ घरबाट खसीबोका चोरी भएको प्रहरीले पत्ता लगायो । गिरोहमा संलग्न इच्छाकामना–७ कै जापान चेपाङ र मिलन चेपाङ भने अझै फरार छन् । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा चार जनाविरूद्ध सरकारी वकिलको कार्यालयले गत मङ्सिर ११ गते चितवन जिल्ला अदालतमा २२ वटा मुद्दा दर्ता गरेको छ ।
चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेलको बिहीबारको इजलासले पक्राउ परेका अशोक चेपाङ र दिलकुमार चेपाङलाई २२ वटै मुद्दामा धरौटी लिएर पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको छ । प्रत्येक मुद्दामा दुई हजार रूपैयाँ धरौटी लिएर तारेखमा छाड्ने आदेश भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
‘अशोक र दिलकुमार चेपाङलाई प्रत्येक मुद्दामा दुई हजार धरौटी राखेर पुर्पक्षका लागि तारेखमा राख्न आदेश भएको छ । फरारको हकमा भने उनीहरु पक्राउ परेपछि आदेश हुनेछ’, उनले भने ।
भाडाको अटो लिएर चोरी
गिरोहले अटो भाडामा लिएर खसीबोका चोरी गरी बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दीपक चेपाङको नाममा रहेको बागमती प्रदेश ०३–००१ ह १४०० नम्बरको अटो अशोकले र कमल चेपाङको नाममा रहेको ना २२ प ६७९५ नम्बरको मोटरसाइकल दिलकुमारले प्रयोग गर्थे । चोरेर ल्याएको खसीबोका नारायणगढको पोखरा बसपार्क र भरतपुरका विभिन्न स्थानमा अटोमा लगी बिक्रवितरण गर्ने गरेको पाइएको अदालतका सूचना अधिकारी विश्वकर्माले बताए ।
खसीबोका बेचेर प्राप्त भएको रकम गिरोहका सदस्यहरुले बाँडेर लिन्थे । प्रतिदिन ७०० रूपैयाँ भाडा दिने गरी अशोकले अटो भाडामा लिएका थिए । उनीहरुले २५ किलोसम्मका खसीबोका प्रतिकिलो ५३० रूपैयाँ र २६ किलोमाथिका खसीबोका प्रतिकिलो ५६० रूपैयाँमा बिक्री गर्ने गरेका थिए ।






