सात महिनापछि खुल्यो क्रसरको शिलबन्दी

स्याङ्जा, पुस २२ गते । 

भीरकोट नगरपालिका–१ बयरघारीमा भुसाल इन्टरप्राइजेज प्रालिको नाममा रहेको क्रसरमा लगाइएको शिलबन्दी खुलाइएको छ । गत १ असारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले क्रसरमा शिलबन्दी गरेको थियो ।

भुसाल इन्टरप्राइजेजको नाममा दर्ता भएता पनि क्रसर सम्बन्धि कार्यमा अनुमती नलिएको-दर्ता नभएको पाइएको भन्दै क्रसरलाई शिलबन्दी गरिएको थियो । भीरकोटमा सञ्चालित सहरी विकास मन्त्रालयको एक आयोजनाका लागि भनेर २० महिनासम्म निर्माण सामग्री उपलब्ध गराउने गरि अस्थायी अनुमती दिँदै शिलबन्दी खुलाइएको सहायक प्रजिअ दीपक पौडेलले जानाकारी दिनुभयो ।

संघीय सहरी विकास तथा भवन विकास कार्यालय पोखराले यही पुस ४ गते आफ्नो कार्यालयबाट गत असार ६ गते सम्झौता भएको योजनाको लागि दुई हजार ३०५ घन मिटर ढुङ्गाको काम, १४१ घन मिटर आरसीसी काम, दुई हजार ४३ घन मिटर बेस र तीन हजार १८० घन मिटर सब बेस कामको लागि सामग्री आवश्यक भएकोले इन्जिनियर अच्युत पौडेलले सहजिकरणको लागि नगरपालिकालाई सिफारीस गर्नुभएको थियो ।

सोही पत्रको आधारमा प्रशासन र नगरपालिकाले क्रसरलाई २० महिनको लागि अनुमति दिदै ताला खोलेको पौडेलले बताउनुभयो । क्रसरबाट ढेक्काको काम बाहेक अन्य ठाउँमा सामाग्री बिक्री वितरण गरेका फेरी शिलबन्दी र कारवाही हुने पौडेलले बताउनुभयो ।

विगतमा अवैध सामग्री बेचेको आरोप लागेको क्रसरका सञ्चालक राम प्रसाल भुसालले शहरी विकास कार्यालयको सिफारीस अनुसारको मात्र माल सामाग्री उत्पादन गर्ने बताउनुभयो । पालिकाको वडा नं –१, २, १, ४ ६ र ८ मा काम गर्ने गरी शहरी विकास कार्यालयबाट ग्रेण्ड–एसके–शिभ जेभीले आठ करोड ५५ लाखमा सभ्झौता गरेर २०८२ फागुन ५ गतेमा सक्ने गरी समझौता गरेको थियो ।

सेयर गर्नुहोस्