नेपालगन्ज, पुस २४ गते ।
पछिल्लो केही दिनदेखि चिसो बढेर सुरु भएको शीतलहरका कारण पश्चिम नेपालका तराईका जिल्लाहरु बाँक र बर्दियाको जनजीवन अत्यधिक प्रभावित भएको छ ।
बाक्लो हुस्सु र शीतलहरले बाँके र बर्दियाका सबै पालिकामा जनजीवन कष्टकर बनाएको छ । बिहानैदेखि बाक्लो हुस्सुले ढाकिने र तापक्रममा गिरावट आउने क्रमले चिसो झन् झन् बढ्दै गएको छ ।
चिसोका कारण बच्चा, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसहरूलाई घरबाहिर निस्किन कठिनाइ भइरहेको छ । यसले गर्दा बजार, कार्यालय र विद्यालयहरूमा मानिसहरुको उपस्थिति न्यून बनेको छ । सोही कारणले बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बजार तथा बर्दियाको गुलरिया, राजापुर, बाँसगढी र भुरीगाउँ लगायतका स्थानमा चहलपहल घट्दै गएको पाईएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीका अनुसार हाल आएर चिसोले गर्दा न्यानो कपडाको बिक्री बढेको भए पनि अन्य व्यापार व्यवसायमा निकै मन्दी छाएको बताउनुभयो ।उहाँले शीतलहरका कारण अधिकांश सर्वसाधारण घरमै बसिरहेको पनि बताउनुभयो ।
चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।
भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत कुमार रिसालले चिसो धेरै बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई चिसोबाट जोगाउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालमा चिसोले बिरामी परेकाहरु आउने क्रम बढेको पनि बताउनुभयो ।
उता शीतलहर र हुस्सुकै कारण नेपालगन्जबाट सङ्घीय राजधानी काठमाडौं लगायत पहाडी र हिमाली जिल्लामा हुँदै आएका हवाई उडान पनि प्रभावित र अनियमित भएका छन् ।
केही दिनयता विशेष गरि बिहानको समयमा हुने हवाई उडानहरु अनियमित भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।







