थारु समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने

काठमाडौं

थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एव थारु कल्‍याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।

उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौं। पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौं भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौँ।’

उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्नेछन् । यस वर्ष थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहित माघी पर्व मनाउन लागिएको हो ।

उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।  २० भन्दा थारु सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा २०८१ मा  यस वर्ष थारु खानपिनका  परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने उनले बताए ।

प्रचार प्रसार गर्ने उद्देश्यका साथ र्‍याली पुस २७ गते शनिबार बिहान ७ बजे मोटरसाइकल र्‍याली तीनकुनेबाट सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेष भूषा, बाजा गाजा, सङ्घ संस्थाको तूल ब्यानरसहित न्यूरोड, बसन्तपुरमा जम्मा भई झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क, शहीद गेट, सुनधारा परिक्रमा गरी मूल समारोह टुँडिखेलमा सरिक उनको भनाइ छ ।

उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ । रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारु विकास मञ्चले गरेको छ ।

यस्तै महोत्सवमा थारु सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरूको धमाकेदार प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए ।

महोत्सवमा थारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् ।

बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटीलगायत विभिन्न परिकारहरुको राखिने छ । महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताए ।हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री वितरणमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।

साथै हस्तकलाका सामग्रीहरू भेषभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो) लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा समेत राखिने छ । महोत्सवमा सहभागी भएकाहरूले मन पराएका हस्तकला तथा पुस्तकहरू निश्चित दरमा खरिद गर्न सक्नेछन् ।

महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मूल आयोजकले जनाएको छ ।

सेयर गर्नुहोस्