१ माघ, काठमाडौं ।
रुपन्देहीको सालझण्डीमा भएको नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १८औं संस्करण सकिएको छ ।
रुपन्देहीको नेपाली सैनिक ब्याटल स्कुलमा १५ पुसदेखि सुरु भएको अभ्यासको सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसीले एक समारोहबीच समापन गरेका छन् ।समापन समारोहमा बोल्दै केसीले संयुक्त अभ्यासमा सहभागी फौजलाई सफलतापूर्वक अभ्यास सम्पन्न गरेकोमा बधाई दिँदै अभ्यासका क्रममा दुवै देशका सैनिकहरुले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगावको प्रशंसा गरे ।
समापन समारोहमा भारतीय सेनाको अभ्यास अब्जर्भर ग्रुपका तर्फबाट व्रिगेडियर जनरल गोविन्दन प्रविणले समेत मन्तव्य राखेका थिए ।
विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयमा अभ्यास गरिएको थियो । यसमा नेपाली सेनाबाट सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दरपाल सिंहको नेतृत्वमा ६६८ जना सैनिक सहभागी थिए ।
नेपाल र भारतका सैनिकबीच २०६७ सालदेखि निरन्तर एकअर्काको मुलुकमा संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।