तानसेन, माघ १ गते ।
नेपालको चार धाममध्येको एक रुरुक्षेत्र धाम रिडीमा माघे सङ्क्रान्तिको मेला सुरु भएको छ । पश्चिम नेपालकै एक ऐतिहासिक प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको रुरुक्षेत्र धाम रिडीस्थित कालीगण्डकीमा स्थान गर्ने र ऋषिकेश मन्दिरमा पूजा गर्न आउने भक्तजनको मङ्गलबार बिहानैदेखि घुँइचो लागेको छ । तीन जिल्ला पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा आजदेखि तीन दिनसम्म सङ्क्रान्ति मेला लाग्ने स्थानीय बासिन्दा बताउँछन् ।
लीगण्डकी नदीमा स्नान गर्न र ऋषिकेश मन्दिरमा पूजा गर्न आउने भक्तजनको भीडले सो क्षेत्रमा चलहपहल बढेको छ । माघे सङ्क्रान्तिको अवसरमा नेपाल र भारतका विभिन्न स्थानबाट आएका हजारौँ भक्तजन रडीमा स्नानका लागि भेला भएका छन् ।
कालीगण्डकी नदीमा स्नान गर्ने र नदी तटमा रहेको ऋषिकेश मन्दिरमा पुगेर विशेष पूजा गरेमा जस्तोसुकै पापबाट मोक्ष प्राप्त गरिने जनविस्वास रहेको छ । परापूर्व कालदेखि नै यहाँ स्नान गरी मन्दिरमा पूजा गर्ने, घरेलु उत्पादित बस्तुको बिक्री गर्ने प्रचलन रहेको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिनुभयो । रिडीमा लाग्ने माघे सङ्क्रान्ति मेलाको धार्मिक, सामाजिक र ऐतिहासिक महत्त्व रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार रुरुक्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण, ऋषि ऋण तिरिने धार्मिक किमबदन्तीमा उल्लेख छ । माघेसङ्क्रान्तिको पहिलो, दोस्रो र तेस्रो दिन रिडीमा आफ्ना पितृहरूलाई पिण्ड दिने प्रचलन समेत छ । आफ्ना पितृहरूलाई सम्झेर तिथी श्राद्ध गर्नाले काशी–गया पुगेर दिए सरह फल प्राप्त हुने शास्त्रमा उल्लेख रहेको स्थानीय बासिन्दा बताउँछन् ।
रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ । रिडी क्षेत्रमा प्राचिन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक विस्वास रहेको छ ।
सङ्क्रान्ति मेलासँगै यस भेगका स्थानीय बासिन्दा व्यापार–व्यवसायका लागि यहाँ आउने गरेका छन् । पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ्, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि व्यापारीहरू आएका छन् ।
रोल्पा, रुकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ्मा उत्पादन हुने ऊनीजन्य वस्तुहरू राडीपाखी, कम्बल, बाँसको सामग्रीहरू, जडीबुटीहरू विक्री गर्न व्यापारीहरू रिडीमा आएका रुरुक्षेत्र गाउँपालिका वडा नं. १, का अध्यक्ष नवराज विकेले बताउनुभयो ।