१ माघ, काठमाडौं ।
गर्भावस्था र सुत्केरी गराउने बेला आउने जटिलताले गर्दा महिलाको ज्यान जाने गरेको छ । बच्चा जन्मिएपछि अत्याधिक रक्तश्राव, सुत्केरी पछिको संक्रमण र गर्भवस्थामा हुने उच्च रक्तचाप मृत्युका प्रमुख कारण बनेका छन् ।
घटना १
हिमाली जिल्ला बझाङको केदारस्युँ गाउँपालिका–१ की २२ वर्षीया खिना बोहरा गत सोमबार बिहानीको तीन बजे वृद्ध सासुसँग स्वास्थ्य चौकीतर्फ हिँडिन् ।
प्रसव पीडाले थलिएकी खिना पहिलो सन्तान जन्माउने तयारीमा थिइन् । तर, स्वास्थ्यचौकी नपुग्दै बाटैमा उनले बच्चालाई जन्म दिइन् । तर, स्वास्थ्यचौकी पुग्न नसकेकाले अत्यधिक रक्तस्रावका कारण बाटोमै ज्यान गुमाइन भने नवजात शिशुको ज्यान गयो ।
प्रसव पीडा अघिल्लो दिनदेखि नै सुरु भएको थियो । तर, खिनाले आफ्नो पीडा भित्रैभित्र दबाइन् । वृद्ध सासु–ससुरालाई दुःख दिन नचाहेकी होलिन्, अथवा, समाजको लाजले रोकिएकी, रहस्य उनैसँग विलीन भयो ।
पीडा असह्य भएपछि मध्यरात उनले सासुलाई सुनाएकी थिइन् । ‘राति कहाँ जाने ? कसलाई भन्ने ?’ – यी प्रश्नको जवाफ खोज्दाखोज्दै रात बित्यो । बिहान तीन बजे मात्र स्वास्थ्य चौकीतर्फ लागेका उनीहरूको यात्रा अधुरै रह्यो ।
खिनाका श्रीमान् भारतमा रोजगारीमा थिए, घरमा वृद्ध सासु–ससुरा मात्रै । घरसम्म मोटरबाटो पुगेको छ । स्वास्थ्य चौकी मात्र आधा घण्टाको दूरीमा छ, एम्बुलेन्स र गाडीको व्यवस्था छ । नियमित गर्भ जाँच गराइरहेकी उनलाई स्वास्थ्यकर्मीले प्रसव पीडा लाग्नासाथ फोन गर्न भनेका थिए । तर, सामाजिक बन्धन र चेतनाको अभावले एउटी आमा र उनको बच्चाको ज्यान लियो ।
घटना २
जब एउटी आमाको जीवन र मृत्युको मूल्य पाँच हजार रुपैयाँमा आँकलन हुन्छ, त्यतिबेला हाम्रो स्वास्थ्य प्रणाली र सामाजिक संरचनाको विवशता उजागर हुन्छ । बाजुराको बडिमालिका नगरपालिका– १ पिनालेखकी २६ वर्षीया जानकी लुवार यस्तै विवशताको शिकार बनिन् ।
२६ वर्षीया जानकी आठ महिनाको गर्भवती थिइन् । ८ माघ २०७९ मा जब उनलाई जिल्ला अस्पताल बाजुरा ल्याइयो, शरीर कृत्रिम अक्सिजनको भरमा थियो । चार दिनअघि मात्र स्वास्थ्य परीक्षण गरेर फर्किएकी जानकीको अवस्था गम्भीर थियो ।
उपचार सम्भव नभएको भन्दै एम्बुलेन्समा अन्यत्र लैजान चिकित्सकले सुझाव दिए । तर जानकीका श्रीमान् रमेशसँग एम्बुलेन्सको भाडा तिर्ने पैसा थिएन । उनी पैसाको जोहोमा निस्किए । अर्को दिन पाँच हजार रुपैयाँ ऋण जुटाएपछि उनले श्रीमतीलाई बस चढाएर महेन्द्रनगर लैजाने निर्णय गरे ।
अक्सिजनको सहारामा बाँचिरहेकी जानकीलाई बिना अक्सिजन बसमा राखियो । बाटोमा उनको अवस्था झनै बिग्रियो । अछाम र डोटीको सिमानामा जीप फेला पर्यो । बयलपाटा अस्पताल पुग्दा जानकी र उनको पेटको बच्चा दुवैमा प्राण बाँकी थिएन ।
बडिमालिका नगरपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवतीको निःशुल्क हवाइ उद्धार गर्छ । तर, जानकीले जीवित छँदा न एम्बुलेन्स पाइन्, न हवाइ उद्धार । पछि, मृत शरीरलाई लिएर एम्बुलेन्स घर पुग्यो ।
घटना ३
मध्यरातको सन्नाटामा एउटी महिलाको चित्कार गुञ्जियो । गत असोजमा अछामको ढकारी गाउँपालिकामा– ६ की २९ वर्षीया सरितादेवी जैशीको शरीरलाई प्रसव पीडाले च्यापिरहेको थियो । परिवारले उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्नातर्फ बोकेर हिँडे । बाटोमै उनले आफ्नो सन्तानलाई जन्म दिइन् ।
सरितादेवीको शरीरबाट बग्न थालेको रगत रोकिएन । स्वास्थ्य चौकी पुग्दा त्यहाँ न आवश्यक उपकरण थिए, न दक्ष जनशक्ति । थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनियो । तर, सात घण्टासम्म उपचार नपाउँदा उनको मृत्यु भयो ।
दुई दिनअघि मात्र बैतडीको पञ्चेश्वर गाउँपालिकाकी १८ वर्षीया मनीषा घटालले पनि यसरी नै ज्यान गुमाएकी थिइन् । मृत बच्चालाई जन्म दिएकी मनीषाको अत्यधिक रक्तस्रावका कारण ज्यान गएको थियो ।
घटना ४
बाजुराको बुढीनन्दा– ४ की ३१ वर्षीया पानसरा रोकायाले तीनवटै सन्तानलाई बाटोमै जन्म दिइन् । उनी २० मंसिर २०८० एक्लै आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमै तेस्रो सन्तान छोरीलाई जन्म दिन बाध्य भइन् ।
स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई स्वास्थ्य केन्द्रकी धर्मा चदाराले भेटाएकी थिइन् । तर, रोकायाको बाटोमै अत्यधिक रक्तस्राव भयो । उनलाई तत्काल स्वास्थ्य संस्थामा पुर्याएर थप उपचार गरेपछि उनको र छोरीको ज्यान जोगियो ।
गर्भवती भएपछि नियमित गर्भजाँचको कमि, चेतनाको अभाव, भौगोलिक विकटता, यातायताको असुविधा, दक्ष स्वास्थ्यकर्मीको अभाव, समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुग्दा बाटोमै सुत्केरी र मृत्यु हुने गरेको छ ।
सरकारले बाटोमै सुत्केरी हुने र मृत्यु हुने घटनाको आधिकारिक तथ्यांक राख्ने गरेको छैन । तर बाटोमा सुत्केरी हुने संख्या अत्याधिक रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
सामाजिक बन्धन र चेतनाको अभाव ज्यान गुमाउँदै आमा
बाटोमै बच्चा जन्मिने र मृत्यु हुने घटना प्रमुखतया ग्रामीण भेगमा हुन्छ । जिल्ला अस्पताल, बझाङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नवराज जोशी आम मानिसमा जनचेतनाको अभाव यस्ता घटना भइरहेको बताउँछन् । उनका अनुसार घरपरिवारमा गर्भवती महिलाप्रतिको नकारात्मक धारणा र व्यवहार अझै कायमै छ ।
‘सासुले तिमीले मात्रै बच्चा पाएको हो र’ भन्ने जस्ता टिप्पणी गर्छन् । घाँस काट्न जाँदा पनि बच्चा पाएको भन्दै त्यहि अनुरुपको व्यवहार गर्दा बाटोमै सुत्केरी हुने र जटिलताले मृत्यु भइरहेको छ,’ डा. जोशी भन्छन् ।
गर्भ परीक्षणको समयमा स्वास्थ्यकर्मीले दिने सल्लाहसुझावमा कमी हुँदा यस्ता घटना भइरहेको डा. जोशीको अनुभव छ ।
मुगुको पुलु स्वास्थ्यचौकी नर्स तुलसी शाही भौगोलिक विकटता, स्वास्थ्य संस्था टाढा हुनु, परिवारको आर्थिक अवस्था, दक्षजनशक्ति अभाव जस्ता कारणले पनि बाटोमै सुत्केरी हुन र मृत्युवरण गर्न बाध्य भएको बताउँछिन् । उनका अनुसार अझै पनि दुगर्म भेगका महिला यौन समस्या बारे खुलेर व्यक्त गर्दैनन् ।
‘गर्भवतीले लाजका कारण पनि घरपरिवारका सदस्यलाई सहज रूपमा भन्दैनन् । यस्तो कुरा गाउँका स्वयंसेविकासमेत थाहा हुँदैन,’ तुलसी भन्छिन्, ‘जटिल अवस्था भइसकेपछि मात्रै घरपरिवारकाले थाहा पाउँछन् । स्वास्थ्य संस्था जान घन्टौ लाग्ने हुँदा कतिपय गर्भवतीको बाटोमै मृत्यु हुने गरेको छ ।’
शाहीले मुगु तिरको अनुभव साट्दै भनिन्, ‘स्वास्थ्य संस्थामा पुग्न १०–१२ घन्टाको पैदल हिड्नुपर्छ । बर्खाको समयमा त बाटो बिग्रिएको हुन्छ । साघुँरो बाटोमा बोक्न समेतसम्भव हुँदैन । जसले गर्दा बाटोमै सुत्केरी हुने समस्या बढिरहेको छ ।’
शाहीले केही महिनाअगाडी गर्भवती व्यथाले च्यापेको तीन दिनपछि मात्रै स्वास्थ्य संस्था आएको घटना सम्झिँदै भनिन्, ‘शिशुको टाउको र हात एकै ठाँउमा थियो । सक्दो प्रयास गर्दा पनि शिशुलाई बचाउन सकिएन ।’
गाउँमा स्वास्थ्यसंस्थामा समेत पुर्याउने युवा जनशक्ति नहुँदा पनि गर्भवतीको मृत्यु भइरहेको डा. जोशी बताउँछन् ।
सन् २०२२ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) का तथ्यांकअनुसार ७९ प्रतिशत बच्चाहरू स्वास्थ्य संस्थामा जन्मिन्छन् । अझै पनि १९ प्रतिशत बच्चाहरू घरमै जन्मिने गरेका छन् ।
नेपालमा मातृ मृत्यदर २३९ प्रति १ लाख जिवित जन्म छ । नेपालले दिगो विकास लक्ष्य अन्तर्गत २०३० सम्ममा मातृ मृत्युदर प्रति १ लाख जिवित जन्ममा ७० मा ल्याउने लक्ष्य लिएको छ । त्यसका लागि मृत्युदरलाई हरेक वर्ष ७.५७ प्रतिशतका दरले घटाउनु पर्ने हुन्छ ।
परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लाल कानुनी र संस्थागत व्यवस्था भए पनि व्यवहारिक कार्यान्वयनमा अझै धेरै चुनौतीहरू विद्यमान रहेको बताउँछन् ।
अझै पनि कतिपय मानिसमा स्वास्थ्य संस्था जानुपर्छ भन्ने आधारभूत जनचेतनाको कमी रहेको डा. लाल बताउँछन् । मातृ स्वास्थ्यको विषयलाई स्वास्थ्य क्षेत्रको मात्र नभई सामाजिक मुद्दाको रूपमा हेर्नुपर्ने उनको भनाइ छ ।
‘स्वास्थ्य संस्थामा हुने मातृ मृत्यु घटेको छ । स्वास्थ्य संस्थामा ढिलो पुगेर, जटिलता समयमा पत्ता नलगाएर हुने मृत्यु र बाटो वा घरमा हुने मृत्यु चुनौतिको रुपमा रहेको छ,’ डा. लालले भने, ‘बाटोमै हुने मृत्युलाई सम्बोधन गर्न नसके दिगो विकास लक्ष्य हासिल गर्न सक्दैनौं ।’
आमा र शिशुको ज्यान जोखिममा
गर्भावस्था र सुत्केरी गराउने बेला आउने जटिलताले गर्दा महिलाले ज्यान जाने गरेको छ । बच्चा जन्मिएपछि अत्याधिक रक्तश्राव, सुत्केरी पछिको संक्रमण र गर्भवस्थामा हुने उच्च रक्तचाप मृत्युका प्रमुख कारण हुन् ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जोशीका अनुसार बाटोमा सुत्केरी हुँदा पाठेघर र योनीको मुख च्यातिने सम्भावना अत्याधिक हुन्छ । जसले गर्दा अत्याधिक रक्तस्राव हुन्छ । त्यस्तै पाठेघर नखुम्चिने पनि समस्या हुन्छ ।
‘बाटोमा सुत्केरी हुँदा दक्षजनशक्ति, औषधि हुँदैन । बाटोमै सुत्केरी हुँदा पाठेघरको खुम्चिने औषधि दिन सकिँदैन,’ डा. जोशी भन्छन्, ‘अत्याधिक रक्तस्राव हुने, योनी च्यातिने, साल समयमा नआउने जस्ता कारणले सुत्केरीको आमाको ज्यानै जान्छ ।’
बाटोमा सुत्केरी हुँदा जोखिम न्युनिकरण गर्ने दक्ष जनशक्ति हुँदैनन् । सुरक्षित डेलिभरी नहुँदा आमा र बच्चालाई संक्रमण हुने सम्भावना अत्याधिक हुन्छ । जसका कारण बाटैमा आमा र नवजात शिशुको मृत्यु हुन्छ । समयमा नै उपचार तथा स्वास्थ्य सेवा पाउने हो भने अत्यधिक रक्तश्रावका कारण बाटोमै मृत्यु हुने आमाको रोक्न सकिने डा. जोशी बताउँछन् ।
राष्ट्रपति हवाइ उद्धार कार्यक्रम पुनरावलोकन गर्नुपर्ने
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरीलाई समयमा नै उपचार सेवा पुर्याउन हवाइ उद्धार हुँदै आएको छ । डा. लालले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाइ उद्धार सेवामा समेत समीक्षा आवश्यक रहेको औंल्याए ।
वर्तमान व्यवस्थामा जटिल सुत्केरी अवस्थाका महिलालाई हवाइ सेवा प्राप्त गर्न धेरै प्रक्रिया पार गर्नुपर्ने र यसले गर्दा समयमै सेवा नपाउँदा बाटोमै मृत्यु हुने जोखिम रहेको उनको भनाइ छ ।
उनका अनुसार नजिकैको स्वास्थ्य संस्थामा समेत गर्भवती महिलाको सहज पहुँच छैन । यसका लागि जनप्रतिनिधिको सक्रियता र स्वास्थ्य संस्थाबाट नियमित सम्पर्क आवश्यक रहेको उनले बताए ।
‘पहुँच भएकाले सेवा लिन्छन्, तर पहुँच नपुगेकालाई सेवा पुर्याउने दायित्व जनप्रतिनिधि र नजिकको स्वास्थ्य संस्थाको हो,’ डा. लाल भन्छन् । उनले प्रजनन् दर घट्दो क्रममा रहेको र प्रजनन् स्वास्थ्यको अधिकारलाई सहज बनाउन प्रयास भइरहेको जानकारी दिए ।
स्थानीय तहहरूले दूरदराजका गर्भवती महिलाहरूका लागि सुत्केरी गृह र कुरुवा सुविधाको व्यवस्था गरेका छन् । केन्द्र सरकारले पनि यसका लागि बजेट विनियोजन गरेको छ । तथापि, यी सेवाहरू अपेक्षित रूपमा सञ्चालन हुन सकेका छैनन् ।
‘गर्भवती महिलाले पर्याप्त पोषण, आराम र स्याहार नपाउने, समयमा जटिलता पहिचान नहुने र अस्पताल पुर्याउन ढिलाइ हुने जस्ता कारणले मातृ मृत्यु हुने गरेको छ,’ डा. लाल भन्छन्, ‘यस्ता समस्या समाधानका लागि स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै सामाजिक दृष्टिकोणमा परिवर्तन आवश्यक छ ।’