घर बनाउने वा व्यवसाय गर्ने सोँचमा हुनुहुन्छ ? हार्डवेयर एक्स्पो हुनसक्छ फलदायी

चितवन, माघ २-

घर तथा भवन बनाउने वा निर्माण सामाग्रीको व्यवसाय गर्ने सोँचमा हुनुहुन्छ ? नारायणी नदी किनारमा जारी चितवन महोत्सव परिसरमा सञ्चालन भएको हार्डवेयर एक्स्पो तपाईलाई फलदायी हुन सक्छ ।

निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा हार्डवेयर एक्स्पो सञ्चालन भइरहेको छ । एक्स्पो आगामी माघ १० गतेसम्म सञ्चालन हुने छ । घर तथा भवन निर्माण गर्न चाहने सेवाग्राही र व्यवसाय गर्ने योजना बनाएका उद्यमीले निर्माण सामाग्रीबारे कम्पनीका प्रतिनिधिबाटै जान्न र बुझ्न पाउनेछन् । एक्स्पोमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको छ ।

निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष शिव प्रसाद ओझाका अनुसार एक्स्पोको मुख्य उद्धेश्य नेपाली निर्माण सामाग्रीको प्रवद्र्धन गर्नु हो । एक्स्पोमा प्रदर्शनका लागि राखिएका ९९ प्रतिशत निर्माण सामाग्रीहरु नेपाली उत्पादन रहेको उनले बताए । एक्स्पोको मुख्य प्रायोजक पशुपती सेरामिक्स रहेको छ । बारामा यसको उद्योग छ भने यसले एसिटएस ब्राण्डका टायल्स र मार्वल उत्पादन एवम् विक्री वितरण गर्दै आएको छ । यो उद्योगमा भारतीय र नेपाली लगानीकर्ताको लगानी रहेको छ ।

गुणस्तरमा उत्कृष्ट प्रमाणित भएका निर्माण सामाग्रीको स्टल एक्स्पोमा रहेको उनले बताए । सेवाग्राही, नयाँ व्यवसायी र कम्पनीबीच सम्बन्ध स्थापित गरी नबुझेका कुरा बुझाउनका लागि एक्स्पो फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

संघका निवर्तमान अध्यक्ष हरिप्रसाद गैरेले एक्स्पोमा निर्माण सामाग्रीका ३० वटा स्टल रहेको बताए । एक्स्पोमा घर तथा भवन निर्माण गर्दा आवश्यक पर्ने सबै निर्माण सामाग्रीको स्टल रहेको छ । ‘घर तथा भवन निर्माण गर्ने योजना बनाउनुभएका सेवाग्राही वा नयाँ व्यवसायी गर्ने सोँचमा रहनुभएका व्यक्तिले यहाँ आएर निर्माण सामाग्रीको बारेमा कम्पनीको प्रतिनिधिसँग प्रत्यक्ष भेटेर संवाद गर्न सक्नुहुन्छ । आफ्ना जिज्ञासा मेट्न सक्नुहुन्छ’, उनले भने । नेपाल गुणस्तर र अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त निर्माण सामाग्रीहरु एक्स्पोमा राखिएको उनले बताए ।

बारामा एटिएस ब्राण्डका मार्वल टायल उत्पादन गर्दै आएको पशुपती सेरामिक्सका निमावत सनीले आफ्नो ब्राण्डको प्रचारप्रसार गर्न एक्स्पोको भूमिका महत्वपूर्ण हुने बताए । भारतको गुजरातमा एटिएस ब्राण्डका मार्वल टायल उत्पादन हुन थालेको २५ वर्ष भइसकेको छ । सोहि ब्राण्डका मार्बल र टायल नेपालमा पनि उत्पादन हुन थालेको छ । ‘हाम्रो टायलमा २० वर्षको ग्यारेन्टी छ । नेपालमा २० वर्षको ग्यारेन्टी कुनै पनि मार्बल टायल कम्पनीले दिन सकेका छैनन्’, उनले भने ।

सौरभ ग्रुपका डाइरेक्टर अतुल न्यौपानेले काठमाडौं बाहिर पनि निर्माण सामाग्रीको एक्स्पो देख्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । यस्ता एक्स्पो नियमित रुपमा भइराख्नुपर्ने उनले बताए । ‘एक्स्पोले बजारमा आएका नयाँ निर्माण सामाग्री बारे जान्न बुझ्न सेवाग्राहीलाई पुलको काम गर्छ । व्यवसायीलाई आफ्ना सामाग्रीको प्रचारप्रसार गर्ने राम्रो अवसर पनि हो’, उनले भने ।

सेयर गर्नुहोस्