गाजामा युद्धविराम र इजरायली बन्धक मुक्त गर्ने सहमति

बैतडी, माघ ३ गते ।

नेपालकै लामो र गहिरो दाबी गरिएको पाताल भुमेश्वर गुफासँगै रहेको तलाउको पानी वर्सेनी घट्दै जान थालेपछि तलाउको अस्तित्व सङ्कटमा परेको छ । गुफाकोसमेत विस्तृत अध्ययन हुन सकेको छैन । यहाँ शिवरात्री र साउने संक्रान्तिमा विशेष पूजाआजा लाग्ने गर्दछ । गुफामाथि रहेको तलाउ पाताल भुमेश्वरको मुख्य आकर्षण हो ।

इन्टरनेशनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन र उनको टिमले २०७१ सालमा आफ्नै प्राविधिक पहलमा गुफाको आठसय मिटरसम्म भित्रपसी नेपालकै लामो गुफा दाबी गर्नुभएको थियो । गुफाको लम्बाई अझै धेरै हुनसक्ने भएपनि त्यसपछि कुनै अनुसन्धान हुन सकेको छैन । गुफासँगै रहेको तलाउको संरक्षणमासमेत हुन सकेको छैन ।

पाटन नगरपालिका र सुर्नया गाउँपालिकाको सीमा क्षेत्रमा गुफा र तलाउ रहेको छ । यो तलाउको पानी गुफाको पूजामा प्रयोग हुनुको साथै जङ्गली जनावर र चरिचरनका लागि छाडिएका घरपालुवाले तिर्खा मेट्ने गरेका छन् ।

तलाउको संरक्षण नहुँदा पानी घट्दै र धमिलो हुँदै गएको स्थानीय धार्मिक अगुवा ज्योतिष पंं. गणेशप्रदा पन्तले बताउनुभयो । तलाउ संरक्षणमा ध्यान नदिने हो भने यही मात्रामा पानी घट्दै गए एक दिन तलाउ सुक्न सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।

गुफामो धार्मिक विशेषता बताउँदै उहाँले भन्नुभयो, “महादेवले सतीदेवीको मृत शरीर घुमाउँदै हिड्दा यस स्थानमा सतिदेवीको पैतला खसेकोले यसको नाम पाताल भुमेश्वर रहेको किमदन्ती पाइन्छ । पाताल भुमेश्वर गुफा कैलाशपर्वतसम्म रहेको धार्मिक विश्वास छ । प्राचीनकालमा यसभित्र ३३ करोड देवगणले बास गर्ने, बैठक गर्ने तथा पाण्डवहरुले पनि बास बसेको वर्णन ‘स्कन्दपुराण’ को मानस खण्डमा गरिएको छ ।”

त्रेतायुगमा अयोध्याका राजा रितुवर्णले यो गुफा पत्ता लगाएको जनविश्सास छ । यो गुफाको द्वार सानो भए पनि भित्र पस्दा फैलिएको छ । धार्मिक अगुवा ज्योतिष पं. पन्तले यो तलाउमा पानी खान गएका भैसीहरु गुफाभित्र छिरेर सुर्नया नदीमा फेला परेको किवन्ती रहेको बताउनुभयो । आजभन्दा तीन दशक अघि यो तलाउ पानीले भरीभराउ भएर बगेर जान्थो, अहिले सुक्ने अवस्थामा आएपछि स्थानीय चिन्ता व्यक्त गर्न थालेका छन् ।

तत्कालीन जिल्ला विकास समितिले तलाउमा घेर पर्खाल लगाउने काम गरे पनि अहिले अधिकांश ठाउँमा पर्खाल छैन । गुफाभित्र ५० मिटरसम्म विद्युतिकरण गरिएको  थियो । बिजुलीका तारसमेत चोरी भएपछि अहिले गुफाभित्र अँध्यारो छ । वस्तुभाउ सिधै तलाउमा पसेर पानी खान जाने गरेका छन् । तलाउ वरिपरी वृक्षारोपण गरेर तलाउ संरक्षणमा स्थानीय तहले ध्यान दिनु पर्ने सरोकारवालाको भनाइ छ ।

गुफा र तलाउसम्म जानका लागि प्रदेश सरकार, स्थानीय तह, धार्मिक अगुवाको पहलमा पदमार्ग निर्माण गरिए पनि पतलाउको पानी घट्न दिने उपाया निकाल्न सकेका छैनन् । गुफाकोसमेत विस्तृत अध्ययन हुन नसक्दा यसको महत्व ओझेलमा परेको छ ।

गुफा र तलाउको दर्शन गर्न सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पाँच घण्टा गाडीको यात्रा पछि यो गुफा नजिक पुग्न सकिन्छ । दशरथचन्द मार्गको बैतडीको सिउँडेबाट १५ मिनेटको दूरीमा पाताल भूमेश्वर गुफा र पानीको तलाउ रहेको छ ।

सेयर गर्नुहोस्