चन्द्रपुर नगरपालिकामा १५ शय्याको अस्पताल निर्माण

रौतहट, माघ ४ गते ।

रौतहटको चन्द्रपुर नगरपालिकामा १५ शय्याको थप एक अस्पताल निर्माण हुने भएको छ । सङ्घीय सरकारको र नगरपालिकाको संयुक्त बजेटबाट निर्माण हुने अस्पताल भवन पालिकाको वडा नम्बर ५ स्थित सन्तानेश्वर महादेव मन्दिर नजिक रहेको सरकारी जमिनमा बन्न लागेको हो।

चालु आर्थिक वर्षमा अस्पताल भवनको पहिलो तलासम्म निर्माण सम्पन्न गर्न चार करोड नौ लाख रुपियाँको ठेक्का साहु कन्स्ट्रक्सनले पाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनीधि तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त भवको ‘डिपिआर’ १७ करोड रुपियाँको रहेको छ ।

नगर प्रमुख सञ्जय काफ्ले भन्नुहुन्छ, आउँदो आर्थिक वर्षको लागि सङ्घीय बजेटको सुनिश्तिता भएपछि नगरपालिकाको समेत बजेट निश्चित गरी सोही बमोजिम अर्को चरणको ठेक्का आव्हान गरिने छ। ‘अण्डर ग्राउण्ड पार्किङ्’, क्याण्टिनसहित सुविधायुक्त अस्पताल निर्माण हुने छ ।”

नगर प्रमुख काफ्ले, उप प्रमुख जयमाला चौधरी र वडा अध्यक्ष निलहरी कोइरालाले संयुक्तरुपमा शिलान्यास गर्नुभएको उक्त अस्पताल भवन निर्माण भएपछि पालिकामा रहेको सरकारी अस्पतालमा बिरामीको चाप कम हुने र स्वास्थ्य सेवा पनि प्रभावकारी हुने बताइएको छ ।

सेयर गर्नुहोस्