प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

पाँचथर–

बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि पाँचथरका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन भएको छ ।

आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नम्बर ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति गरेको छ ।

खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष तिलविक्रम इधिङ्गोले जानकारी दिए ।

आजदेखि चल्ने क्षमा पूजा तथा प्रकृतिमा पूजामा लगातार चार दिन ब्राह्मणहरूबाट पाठ हुनेछ भने त्यसपछिका तीन दिन बरूण पुराण वाचन हुनेछ ।लक्ष्य हवन र प्रकृति पूजा हेंवा र फेमे खोलाको सङ्गमस्थलमा हुनेछ । उक्त पूजामा जम्मा एक सय ५० किलो तिलको एक लाख २५ हजार हवन हुने आयोजकमध्येका सुवराज थापाको भनाइ छ ।

उक्त पूजाको आयोजनामा कुनै पनि सङ्घ संस्थासम्बद्ध नरहेको तथा पूजाका लागि कुनै पनि रकम सङ्कलन नगरिने आयोजकको भनाइ छ । स्थानीयवासी, आध्यात्मिक क्षेत्रका व्यक्ति तथा संस्थाले पूजाको आयोजना, व्यवस्थापन तथा खानपानको व्यवस्था मिलाउने भएका छन् ।

सेयर गर्नुहोस्