सुन्तला बेचेर तीन करोड आम्दानी

तनहुँ, माघ ५ गते ।

तनहुँको देवघाट गाउँपालिका–३ ले यस वर्ष सुन्तला बिक्रीबाट तीन करोड रुपियाँ आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसानले ठेक्का तथा आफैँले बिक्री आम्दानी गरेका हुन् । बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको बासिन्दाले सुन्तला बिक्री गरेर तीन करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य नबढेकाले आम्दानी बढ्न नसेको किसानहरु बताउछन् ।

अगुवा सुन्तला कृषक तथा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाले महँगी बढेपनि नगत वर्षकै भाउमा सुन्तला बेचेको जानकारी दिनुभयो । यस वर्ष ३० लाख रुपियाँको सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । अध्यक्ष राना वडा नम्बर ३ का किसानले मात्रै तीन करोडभन्दा बढी आम्दानी गर्ने गरेको जानकारी दिनुभयो ।

लुङग्रिङमा एकै घरबाट २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको उहाँले जानकारी दिनुभयो । कृषक प्रेम थापाले सुन्तला उत्पादक किसानलाई बजारसम्म लैजान समस्या पर्दै आएको बताउनुभयो । नदी पारी रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशुली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान सास्ती भएको थापाले बताउनुभयो । उहाँका अनुसार लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारयणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् भने छापस्वारा र दगराका कृषकले बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् ।

थापाले भन्नुभयो, ‘‘पुल नहुँदा ढुवानी खर्च महँगो परेको छ ।’’ नाल्दीमा पुलको योजना परेको थियो । तर तनहुँ जलविद्युत आयोजनाको तल्लो सेती जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएकाले गर्दा उक्त पुलको योजना पनि स्थगित समस्या परेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्ने गरेको बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले निशुल्क बिरुवा दिने गरेकोले अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने अध्यक्ष थापाको भनाइ छ । देवघाट गाउँपालिका तिनतिरबाट नदीले घेरिएको तर पक्की पुल नहुँदा समस्या परेको अध्यक्ष थापाले बताउनुभयो ।

नाल्दीघाट, घुमाउने र गाईघाटमा पुल नहुँदा समस्या परेको उहाँले जानकारी दिनुभयो । नाल्दीबाट लुङग्रिङसम्म जाने ग्रामीण सडकलाई गाउँपालिकाले सुन्तला मार्ग नामाकरण गरी बजेट विनियोजन गरेको छ । गाउँपालिकाको स्रोतले बाटो बनाए पनि पुल नहुँदा राजमार्गसम्म ल्याउन समस्या परेको अध्यक्ष थापाको भनाइ छ । किसानलाई प्रोत्साहन गर्न काफलडाँडामा सुन्तला नर्सरी स्थापना गरिएको अध्यक्ष थापाले बताउनुभयो । त्यहाँ उत्पादित बिरुवा किसानहरुलाई निःशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार वडा नम्बर १, २, ३ र ४ का विभिन्न भागमा सुन्तला उत्पादन हुन्छ । विगतमा बारीबाटै डोकोमा बोकेर चितवनको नारायणगढसम्म लैजानु पथ्र्यो । तर हाल गाउँपालिकाले गाउँमा सडक पुर्‍याएको अध्यक्ष थापा बताउनुहुन्छ । नदीमा पुल नहुँदा राजमार्गसम्म सिधै पहुँच नपुगेको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८०/०८१ मा तनहुँका किसानले ४० करोड रुपियाँ हात पारेका थिए । ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन हुँदा उक्त रकम हात पारेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । यो वर्ष कति आम्दानी भयो भने विवरण आउन बाँकी रहेको लामिछाने बताउनुुहुन्छ ।

सेयर गर्नुहोस्