बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री

काठमाडौं, माघ ७ गते ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने जिकिर गर्नुभयो । उहाँले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

‘‘पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामथ्र्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूचि बनाउनु पर्दछ । बैंक सबल भयो, प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्छ ।,’’ उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘‘त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ । पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिनुहोला । बैंक जुन उद्देश्यले स्थापना भएको छ, ति उद्देश्य हाँसिल गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ ।’’

उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बिचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताउनुभयो । बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको उहाँको भनाइ छ ।

सेयर गर्नुहोस्