वालिङ, माघ ७ गते ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले ८६ जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । गाउँपालिकास्तरीय चौथो कृषि मेला प्रदर्शनीका अवसरमा कृषकहरुलाई पुरस्कृत गरिएको हो ।
प्रदर्शनीमा सहभागी गाउँपालिका क्षेत्रभित्रका २६ वटा फर्महरुलाई पाँच विधामा २५ जना कृषकहरुलाई पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । प्रदर्शनीमा सहभागी भएका कृषि तथा पशुपन्छी प्रतियोगिताका तीन सय ३२ नमुना संकलन गरी ६० जना कृषकलाई पुरस्कृत गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्रका कृषकहरुलाई उत्प्रेरित गर्दै उत्पादन बढाउने उद्देश्यले कृषकका उत्पादनहरुको प्रदर्शनी र पुरस्कृत गरिएको सुवेदीले बताउनुभयो । सो अवसरमा निशुल्क वाली उपचार शिविरका साथै निशुल्क माटो परिक्षण समेत गरिएको थियो ।
फेदीखोला गाउँपालिकाको स्थानीय पाठ्यक्रममा पठनपाठन हुने कृषि उत्पादनको विद्यालयका विद्यार्थीहरुले उत्साहित रुपमा प्रत्यक्ष अवलोकन गरेका थिए ।
प्रदर्शनीमा कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमाल, माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेशका प्रमुख सुनिल पाण्डे, कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीका चन्दकान्त तिमिल्सिना, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका जयदेवी गुरुङ लगायतले कृषकलाई उत्पादन बढाउने तरिका तथा बजारीकरणका लागि अपनाउनु पर्ने विधिका बारेमा जानकारी गराएका थिए ।
गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा ‘कृषि व्यवशायीकरणमा हाम्रो अभियान,कृषकहरुलाई उत्पेरणा, पुरस्कार र प्रोत्साहन’ भन्ने मुल नारा सहित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।