स्याङ्जाका ९ हजार बढी छात्रालाई ‘एचपिभी खोप’ लगाइने

वालिङ, माघ ७ गते ।

स्याङ्जामा आगामी माघ २२ गतेदेखि एचपिभी खोप लगाउन सुरु गरिने भएको छ । महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान अन्तर्गत जिल्लाका ११ वटै स्थानीय तहमा खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जाका ११ स्थानीय तहमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने किशोरी गरी १० देखि १४ वर्ष उमेर समूहका गरी ९ हजार ३१९ जनाले यो खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय जाने ९ हजार २८८ र विद्यालय नजाने किशोरी ३१ जना गरी ९ हजार ३१९ जनाले यो खोप लगाउन लागिएको हो ।

जिल्लामा सबैभन्दा धेरै वालिङमा एक हजार ९८० जनाले खोप लगाउँदैछन् । त्यस्तै ११ पालिका मध्ये सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ३९९ जनाले खोप लगाइँदै छ ।

विद्यालय नजाने १० देखि १४ वर्ष उमेरकाले परिचय खुल्ने कागजपत्र सहित पायक पर्ने विद्यालयमा गएर खोप लगाउन सक्ने  प्रमुख चापागाँईले बताउनुभयो । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको सङ्क्रमणबाट हुने उहाँको भनाइ छ ।

सेयर गर्नुहोस्