दश वर्षे पर्यटनका कार्ययोजना तयार हुँदैछ : मन्त्री पाण्डे

अछाम

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रि पाण्डेले दश वर्षे पर्यटनका प्राथमिकताका योजनासहितको कार्ययोजना निर्माण भइरहेको बताएका छन्। सातौं साँफेबगर महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री पाण्डेले परिमाण र प्रतिफल छिट्टै आउने गरी कार्ययोजना बनिरहेको बताएका हुन्।

पाण्डेले पर्यटनको क्षेत्रमा पछि पारेको सुदूरपश्चिमलाई विशेष प्राथमिकताका साथ समेटेर योजना तयार गरिने बताए। उनले सुदूरका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण प्रचार प्रसार गर्दै गन्तव्यलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालय लागी परेको जानकारी गराए। उनले भने,‘यहाँको विविधतापूर्ण संस्कृति, धार्मिक विशिष्टतालाई महत्वका साथ अगाडि बढाइनेछ, सातै प्रदेशमा प्रदेश सरकारका आफ्नै ट्वीनेटर विमान खरिद, सञ्चालन लगायतका विषयमा छलफल चलिरहेको छ। अहिले सुदूरका पहाडी जिल्लाहरु विमान अभावका कारण नियमित हवाई उडान हुने सकेको छैन।’

साँफेबगर कमलबजार विमानस्थलमा हवाई सेवा नियमित गर्नका लागी पहल भईरहेको मन्त्री पाण्डेले बताए। नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले २०८४ सम्म गठबन्धन सरकार टिकिरहने बताए। उनले गठबन्धन सरकारले सुशासन र राजनितिक स्थायित्व दिने बताउँदै गठबन्धन सरकारले थुप्रै जनमुखी कार्यहरू गर्दै आएको दाबी समेत गरे। २०८४ को निर्वाचनमा भने दुई दल नेपाली कांग्रेस र एमाले मुख्य प्रतिष्पर्धीको रुपमा रहेको बताए।

सेयर गर्नुहोस्