भरतपुर मेयर्स कप क्रिकेटः लिग चरणमा पुग्ने ६ टिमको टुंगो लाग्यो

चितवन, माघ १४–

ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा आज छनोट चरणका सबै नकआउट खेल सकिएसंगै लिग चरणमा प्रवेश गर्ने ६ टिमको टुंगो लागेको हो । छनोट चरणमा ४३ वटा विद्यालयबीच भएको प्रतिष्पर्धाबाट उत्कृष्ट ६ टिमले लिग चरणमा स्थान बनाएको हो ।

लिग चरणमा स्थान बनाउनेमा चितवन मावि, हिमालय दण्डपानी मावि, नारायणी पब्लिक इङलिस स्कुल, प्रेरणा इङलिस स्कुल, अरोमा इङलिस स्कुल (कलेज) र लक्ष्मी मावि लंकु रहेका छन् । लक्ष्मी मावि दुई खेल खेल्दै उत्कृष्ट नेटरनरेटको आधारमा सिधै लिग चरणमा प्रवेश पाएको थियो भने अन्य टिमले लगातार ३ खेल जितेर लिग चरणमा स्थान बनाएका हुन् ।

छनोट चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई छुट्टाछुट्टै प्रतिस्पर्धा गराईएको थियो । लिग चरणमा कुल १० टिमबीच प्रतिस्पर्धा हुनेछ । ४ वटा टिम यसअघि नै सिधै लिग चरणमा स्थान बनाइ सकेका छन् । गतवर्षको संस्करणमा सेमीफाइनल पुगेका ४ टिमले यो अवसर पाएको थियो । पहिलो संस्करणको उपाधि अर्किड कलेजले जितेको थियो वाल्मीकि शिक्षा सदन उपविजेता बनेको थियो ।

यस्तै नारायणी नमुना मावि र सनराइज इङलिस स्कुल सेमीफाइनलसम्म पुगेका थिए । अब लिग चरणमा १० टिमलाई दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र ‘बी’मा रहेका पाँच/पाँच टिमले एक अर्काविरुद्ध खेल्नेछन् । उत्कृष्ट चार टिम सेमीफाइनलमा प्रवेश गर्ने छ । लिग चरणका खेलहरु ३० ओभरको हुनेछ । सेतो जर्सी र रातो बलमा खेलाइने भएकाले लिग चरणका खेलहरु टेष्ट क्रिकेटको झल्को दिने आयोजकले जनाएको छ ।

यसले युवाहरुलाई लामो इनिङ खेल्न प्रोत्साहन मिल्नेछ ।प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् ।

सेयर गर्नुहोस्