काठमाडौँ, माघ १५-
भारतको उत्तर प्रदेशको बागपत जिल्लामा ठूलो दुर्घटना भएको छ। बागपतमा भगवान आदिनाथको निर्वाण लड्डू उत्सवमा मान स्तम्भ परिसरमा बनाइएको काठको मञ्च भत्किएको छ। जसबाट सात जना भक्तजनको मृत्यु भएको छ भने ७५ भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। घाइतेमध्ये १५ प्रहरी पनि छन्।
मञ्च भत्किएपछि घटनास्थलमा भागदौड मच्चिएको थियो। एम्बुलेन्स तत्काल उपलब्ध नभएपछि घाइतेलाई इ–रिक्सामा राखेर अस्पताल लगिएको बताइएको छ। सूचना पाएपछि बरौत कोतवालीका इन्स्पेक्टर पनि प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए।भारतीय सञ्चार माध्यमका अनुसार बरौत सहरको कोतवाली क्षेत्रको गान्धी रोडमा यो दुखद दुर्घटना भएको हो।
आज यहाँ निर्वाण महोत्सवअन्तर्गत धार्मिक कार्यक्रम हुने भएकोले त्यसका लागि यहाँ ६५ फिट अग्लो स्टेज निर्माण गरिएको थियो। मञ्चमा भक्तजनको भीडका कारण यसको सिँढी भाँचिएको थियो। जैन कलेज क्याम्पसमा स्थापित मनस्तम्भमा राखिएको मूर्तिलाई अभिषेक गर्न जडान गरिएका अस्थायी सिँढीहरू खसेको बताइएको छ। जसका कारण भक्तहरू मुनि पुरिएर भागदौड मच्चिएको थियो।