नेपालको इतिहासमा वीर सहिदको रूपमा जनमानसमा मन मष्तिस्कमा बसेका धर्मभक्त माथेमा नेपालका पहिलो व्यावासायिक शारीरिक सुगठनका खेलाडी थिए।
उनको परिवारले राणाका लागि भारतबाट सामान ल्याउने जिम्मेवारी पाएका कारण धर्मभक्तले दार्जिलिङमा पढ्ने अवसर पाएका थिए। त्यहाँ बस्दा धर्मभक्तले जिमखाना गएर आफ्नो शरीर बनाए। त्यतिबेला धर्मभक्त बंगाल च्याम्पियन बनेका थिए।
नेपाल फर्किएपछि उनले राजा त्रिभुवनसहित राणा परिवारलाई व्यायाम सिकाउथे। भारतमा बसेका कारण उनमा राजनीतिक चेत थियो। त्यसैले व्यायामसँगै भूमिगतरूपमा प्रजा परिषद स्थापना गर्न धर्मभक्तले पनि भूमिका खेलेका थिए। धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठसहितका व्यक्तिले राणा शासनविरूद्ध अभियान सञ्चालन गरेपछि उनीहरूलाई १९९७ माघ ६ गते मृत्युदण्ड दिइएको थियो।
धर्मभक्तलाई माघ १३ गते काठमाडौंको सिफल उकालोको बकाइनोको रूखमा झुण्डाइएको थियो। धर्मभक्तको शरीर यति बलिष्ठ थियो कि पहिलो पटक उनलाई झुण्डाइएको रूखको हाँगा भाँचिएको थियो। त्यसपछि दोस्रो हाँगामा झुण्डाउदा धर्मभक्तले चलमलाए, जसका कारण दोस्रो हाँगाले पनि थेगेन। त्यसपछि उनलाई सजाय दिन गएका नरशमेशरसहित शैनिकले मरणाशन्न हुने गरी कुटपिट गरेर उनलाई रूखमा झुण्डाएर हत्या गरिएको इतिहास छ।
यो घटना नेपाली शारिरीक सुगठन क्षेत्रमा सधै सम्मानका सम्झिने गरिएको छ। नेपाल व्यायाम मन्दीरले त नेपालका पहिलो शारिरीक सुगठनका खेलाडी धर्मभक्तको नाममा विगत ४० वर्षदेखि शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको छ।
विसं २०४२ सालमा देखि व्यायाम मन्दीरले धर्मभक्तको नाममा गर्दै आएको ‘धर्मश्री’ शारीरिक सुगठन प्रतियोगिता यो वर्ष ४० औँ वर्षमा लाग्दैछ। आगामी चैत ७ देखि ९ गतेसम्म हुन लागेको ‘धर्मश्री’ यो १७औं संस्करण हो। राजनीतिक र प्राकृतिक प्रकोपका कारण केही वर्ष रोकिएको ‘धर्मश्री’ निरन्तर सञ्चालन भइरहेको नेपालको पुरानो प्रतियोगिता मध्ये एक हो।
विसं २०१० मा स्थापना भएको नेपाल व्यायाम मन्दीरले धर्मभक्तको सम्मानमा प्रतियोगिता २०४२ सालदेखि सुरु गरेको मन्दीरका अध्यक्ष नाराणय प्रधान बताउँछन्। पहिलो संस्करण हुँदा प्रधान मन्दीरका व्यायाम प्रशिक्षक थिए। पहिलो संस्करण अन्तरिक प्रतिस्पर्धा भएकोमा तेस्रो संस्करणदेखि भने राष्ट्रव्यापी रुपमा हुँदै आएको थियो।
२०५५ सालदेखि व्यायाप मन्दीरको निरन्तर अध्यक्ष भएका प्रधान ‘धर्मश्री’ लाई एउटा प्रतिष्ठित तथा भव्य प्रतियोगिता बनाउन वर्षौंदेखि खटिरहेका छन्। उनले आफ्नो नेतृत्वमा १२औं पटक धर्मश्री आयोजना गर्न लागेका छन्।
जग्गा प्राप्तिको सकस
व्यायाम मन्दीरको जग्गा संस्थाको नाममा ल्याएको सकस प्रधानले कहिल्यै बिर्सन सक्दैनन्। विसं २०१० मा नेपालमा शारीरिक सुगठनको सार्वजनिक संस्थाको रूपमा व्यायाम मन्दीर स्थापना भएपछि बाहदुर शमशेरले ज्याठामा जग्गा दिएका थिए। साढे चार रोपनी जग्गा बाहादुर शमशेरले सुदर्शन शमशेरमाफर्त उपलब्ध गराएका थिए। त्यतिबेला द्वारिका दास र लोक विलासलाई व्यायाम मन्दीरको प्रयोजनका लागि भन्दै जग्गा उपलब्ध गराइएको थियो।
तर पछिसम्म पनि यो कुरा धेरैलाई थाहा भएन। एकदिन बहादुर शमशेरले जग्गा दिएको कुरा मन्दीरका एक सदस्याले पत्ता लगाएका थिए। विसं २०३७ सालमा जाग्गा नापी हुँदा व्यक्तिले आफ्नो नाममा दर्ता गराएका थिए। यो कुरा मन्दीरका पदाधिकारीलाई थाहा पाएपछि मात्र जग्गा प्राप्तिको लडाइँ सुरु भएको थियो। त्यतिबेला अस्थायी जग्गाधनी प्रमाणपत्र खोज्न हालका अध्यक्ष प्रधानले निकै मिहिनेत गरेका थिए। मालपोत कार्यालयले मिसिल गायब पारेपछि हाकिमअघि टेबल नै ठोक्नु परेको थियो। लामो प्रयासपछि जग्गाधनी प्रमाणपत्रमा व्यायाम मन्दरीको प्रयोजनका लागि भनेर लेखिएको प्रधान सम्झिन्छन्।
तर पनि व्यायाम मन्दीरको नाममा जग्गा प्राप्त हुन सकेको थिए। २०५५ सालमा नारायण प्रधान व्यायाम मन्दीरको अध्यक्षमा चुनिए। त्यसपछि उनले ठमेलस्थित ज्याठाको उक्त जग्गा संस्थाको नाममा ल्याउन निकै लामो संघर्ष गरे। द्वारिका दासको मृत्यु भएका कारण उनकी श्रीमती अम्बिकालाई व्यायाम मन्दीरको नाममा जग्गा सारिदिन पत्र नै काटेका थिए।
जग्गामा अरू बिचौलियाको पनि आँखा लाग्यो। व्यायाम मन्दीरको जग्गा हत्याउन ठूलै भनिएका व्यक्ति पनि लागेको देखेर अध्यक्ष प्रधान निकै दुखित भएका थिए। उनलाई प्रलोभनमा पर्नेदेखि ज्याठाको सट्टा अर्कै स्थानमा जग्गा दिने सम्मका लोभ देखाइएको अध्यक्ष प्रधान बताउँछन्। तर मालपोत कार्यलाय प्रमुखको रूपमा प्रेमबहादुर खपांगी आएपछि व्यायाम मन्दीरको जग्गा प्राप्त गर्न सहज भएको प्रधान बताउँछन्। फलस्वरूप २०६७ सालमा मात्र व्यायाम मन्दीरको जग्गा प्राप्त हुन सफल भयो।
बहादुर शमशेरबाट प्राप्त भएको ५७ वर्षपछि मात्र व्यायाम मन्दीरले आफ्नो नाममा जग्गा पाएपछि अहिले मन्दीरको जिमखान आधुनिक भएको छ। सस्तो मुल्यमा धरैलाई जिमको सुविधा दिन कटिबद्ध रहेको छ। प्रधान त्यहाँ अझ अत्याधुनिक जिमखाना बनाउने सपना देखिरहेका छन्।
बडिबिल्डिङले दिएको परिचय
एकदिन नारायण प्रधान व्यायाम मन्दीर बाहिर जिम गरेर बसेका थिए। उनको जिउडाल निकै आकर्षक थियो। लामो कपाल पालेका थिए। जिन्स पाइट अनि डिंगो जुत्ता लगाएका थिए। त्यतिबेला युवराज दीपेन्द्रले उनलाई देखेछन्। सँगै रहेका व्यक्तिलाई प्रधानबारे सोधेपछि उत्तर पाएका छन्- नेपालको बडिबिल्डर हो, धेरै फिल्म पनि खेलेका छन्।
प्रधान आफ्नो पालामा नामी बडिबिल्डर थिए। पछि उनी प्रशिक्षक भएर धेरै वर्ष काम गरे।
अहिले उनी बडिबिल्डिकै सार्वजनिक संस्था नेपाल व्यायाम मन्दीर २५ वर्षदेखि हाँकिरहेका छन्। २०४० सालदेखि चलचित्रमा काम गरेका उनलाई गोपाल भुटानीले इन्ट्री दिएका थिए। ‘के घर के डेरा’ बाट खेल्न चलचित्र खेल्न सुरु गरेका उनी हलिउडको मोनिका, बुद्ध लगायतका समेत चलचित्र खेलेको बताउँछन्। ज्याकी चेनसँग समेत काम गरेका उनले नेपालका पुराना चलचित्रहरू चिनो, झुमा, ट्याक्सी डाइभर लगायतमा काम गरेका थिए।
झण्डै चार सय चलचित्रमा साना-ठूला पात्रमा अभिनय गरेको दाबी गर्ने प्रधान आफूलाई चलचित्रकर्मी भन्दा पनि शारीरिक सुगठनबाट चिनिन पाउँदा खुसी लाग्ने बताउँछन्। ‘मैले चलचित्रमा काम नै बडिबिल्डर भएको कारणले स्थान पाएको थिएँ,’ प्रधानले भने, ‘त्यसैले यो क्षेत्रमा निकै माया र लगाव छ।’
उनी अहिले शारीरिक सुगठनलाई अझ व्यापक बनाउने अभियानमा छन्। ‘जुन खेलका खेलाडीलाई पनि जिम अनिवार्य जस्तै छ। त्यसैले क्षेत्र अरू खेलकुदलाई पनि नभइ नहुने जिमखाना हो ’ प्रधानले भने, ‘धरै सरकारीदेखि नीजि क्षेत्रले यसको महत्व बुझ्न नसक्दा बडिबिल्डिङले अझ राम्रो लय समाप्त सकेको छैन।’
व्यायम मन्दीरको उद्देश्य पनि सस्तोमा सर्वसाधारणलाई जिमखानाको सुविधा दिनु हो।
पछिल्लो समय बडिबल्डिङबाट नेपालले विश्व मञ्चमा पनि राम्रो प्रदर्शन गर्ने थालेको अवस्थामा धर्मश्रीले नेपाली बडिबिल्डिङलाई जनमानसमा पुर्याउन मद्दत गरेको उनको विश्वास छ। अझ २०६२ सालतिर सानु गुरुङले पहिलो पटक धर्मश्री जितेपछि नेपाली बडिबिल्डिङ व्यापक बनेको उनको अनुभव छ।
धर्मश्रीको यो संस्करणको विजेतालाई नै १२ लाख
आगामी चैतमा हुने १७औं संस्करणको धर्मश्री विजेताले १२ लाख पुरस्कार जित्नेछन्। यो नेपाली शारीरिक सुगठनकै ठूलो पुरस्कार राशी हो। यसपटक प्रतियोगिताको मूख्य विधा अर्थात् पुरुष बडिबिल्डिङको रूपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। त्यसपछि हरेक तौल समूहको विजेताबीच ओभअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ । धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र मेन्स एथ्लेटिक्स फिजिक अन्डर, वुमन्स बडिलिब्डिङ र ५० वर्षभन्दा माथिका खुल्ला मास्टर विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगतिमा करिब ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो संस्करणमा पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ। ओभरअल धर्मश्री विजेताले १२ लाख प्राप्त गर्नेछन् । गत संस्करणभन्दा यो २ लाखले बढी हो । यस्तै उपविजेताले ६ लाख तथा तेस्रोले ३ लाख पाउनेछन् । चौथोले २ लाख, पाँचौले १ लाख ८० हजार तथा छैटौंले १ लाख ५० हजार प्राप्त गर्नेछन्। यसैगरी प्रत्येक तौल समूहका उपविजेताले ५० हजार र तेस्रो हुनेले ४० हजार पाउनेछन् भने चौथोले ३० हजार, पाँचौले २० हजार र छैटौंले १५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वुमन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख पाउनेछन् । तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार रतथा छैटौंले ३० हजार प्राप्त गर्नेछन्।
५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन्।
यसपटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए। मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ। १७ औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ।