पोखराकी रोशनी शर्मा दिनभरि आफ्ना कर्मचारीसँग मिलेर तरकारी काट्छिन्। उनका श्रीमान प्रकाश आचार्य किसानका खेतसम्मै पुगेर तरकारी ल्याउँछन्।
उनीहरू यी तरकारी के गर्छन् त?
उनीहरू यसबाट अचार बनाउँछन् र ‘हरिलो एग्रो इन्डस्ट्री’ को उत्पादनका रूपमा बजारमा बिक्री गर्छन्।
रोशनीले बनाउने मुला, डल्ले खुर्सानी, आँप, करेला, लप्सी, तामा, न्युरो लगायतको अचार बजारमा एकदमै लोकप्रिय छ। काउली, गाँजर, करेला, कागती जस्ता सामग्री मिलाएर बनाउने ‘मिक्स भेज’ पनि धेरैले रूचाएका छन्।
तरकारीबाट अचार बनाउने रोशनीको आफ्नै विधि छ।
घरेलु तरिकाले काटिएका तरकारीलाई उनी दिनभरि घाममा सुकाउँछिन्। त्यसपछि टिमुरका छोंप, तोरी र तीलका छोंप, गरम मसला, अलैंची, खुर्सानी, लसुन, अदुवा, प्याजका धूलो, जिरा लगायतका मसला मिसाएर ड्रममा राख्छिन्। यसो गर्दा काटिएका तरकारीले मसला सोस्न थाल्छन्। मसलाको स्वाद बिस्तारै अचारमा मिसिँदै जान्छ।
लगभग एकदेखि दुई सातामा अचार तयार हुने रोशनी बताउँछिन्। त्यसपछि त्यो अचारलाई सिसाको बट्टामा भरेर बजार पठाइन्छ।
रोशनी र प्रकाशले बनाएका मासुका सितन पनि लोकप्रिय छन्। यस निम्ति मेसिनले मासु टुक्राटुक्रा पारिन्छ र त्यसलाई भुटेर मसला मोलिन्छ। त्यसपछि रातभरि राखेर प्याकेज गरिएको सितन खानलाई तयार हुन्छ। उनीहरू कुखुरा र राँगाको मासुबाट सितन बनाउँछन्।