नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ मा आज बिजनेश कन्क्लेभसँगै विशेष सांस्कृतिक प्रस्तुती हुने भएको छ । नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न ‘पूर्णराई एण्ड दाजुभाईहरु’ र ‘परिवर्तन’ व्याण्ड आउँदै छन् । दर्शकले आज ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्षलाई स्वागत गर्न पाउनेछन् ।
नयाँ वर्षलाई लक्षित गरी आज साँझ ८ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको एक्स्पो आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । साँझ ८ बजेपछि टिकट व्यवस्था लागु हुनेछ । उक्त टिकटको मूल्य ३०० रुपैयाँ कायम गरिएको उनले बताए । उनका अनुसार खल्ती एपमार्फत अग्रिम टिकट खरिद गरेका दर्शकले निःशुल्क पेय पदार्थ पाउनेछन् । त्यसका लागि एक्स्पो परिसरमा रहेको खल्ती काउण्टरमा सम्पर्क गर्नुपर्नेछ ।
चैत २९ गतेदेखि सुरु भएको एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली वस्तु तथा सेवाको प्रदर्शनी हुन्छ । साँझ ६ बजेदेखि मौलिक खाना खाँदै कन्सर्टमा रमाउन सकिन्छ । कन्सर्टअघि हुने चितवन बिजनेश कन्क्लेभमा आज जिएम जिप्सम नेपालका फाउण्डर मन्दिल थापा, चितवन बिजनेश मार्टकी सिईओ अर्पणा प्रधान भण्डारी र अन्नपूर्ण एग्रो फुड प्रोडक्टकी सञ्चालक प्रतिभा श्रेष्ठ वक्ताका रुपमा आउँदै छन् ।
नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका द्धितिय उपाध्यक्ष सन्तोष कँडेलका अनुसार एक्स्पोमा तीन दिनसम्म छ वटा सेसनमा कन्क्लेभ हुनेछ । शनिबार पनि दुई वटा सेसन भएको उनले बताए । चैत २९ र ३० गते गरी करिब पाँच हजार दर्शकले एक्स्पो एण्ड फुडफेस्टिबलको अवलोकन गरेको आयोजकले बताएको छ । आज भने दर्शकको विशेष उपस्थिती रहने आयोजकको अपेक्षा छ ।
एक्स्पो एण्ड फुड फेस्टिबल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । कन्सर्टमा भोलि (बैशाख १ गते) द स्वर र वैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुति रहने नेपाली युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले बताए । फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।
एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको उनले बताए ।