मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा राति नै ठूलो पानी परेको हो । गएराति नवलपरासी, रुपन्देहीलगायत जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बाग्मती र गण्डकीका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको महाशाखाले जनाएको छ ।

केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आसपासका खोला तथा नदीमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।<ol>

सेयर गर्नुहोस्