चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया)रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । गत आर्थिक वर्षमा १० जनामा उक्त रोगको सङ्क्रमण देखिएको थियो ।
पन्ध्र वर्ष उमेरभन्दा बढीमा यो रोग देखिएको उहाँले बताउनुभयो । यो रोग एनोफलिज जातको लामखुट्टेले टोक्दा हुने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।
उहाँका अनुसार अहिले औलो रोग निवारण गर्नेगरी कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालमा पी भाइभाक्स परजिवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा पी फाल्सीपारम परजिवी भेटिने गरेको उहाँले बताउनुभयो ।
औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । रासस