पूर्वी पहाड जोड्ने तीनवटै लोकमार्ग जीर्ण र जोखिमपूर्ण

कोशी प्रदेशका पहाडी जिल्ला जोड्ने मुख्यत: तीनवटा ठूला सडकमार्ग छन्- कोशी, मेची र सगरमाथा लोकमार्ग ।

मेची लोकमार्गले झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङलाई तराईसँग जोड्छ । कोशी लोकमार्गले धनकुटा हुँदै तेह्रथुम, भोजपुर र संखुवासभालाई तराईसँग जोड्छ भने सगरमाथा लोकमार्गले उदयपुरबाट ओखलढुंगा, खोटाङ र सोलुखुम्बलाई तराईसँग जोड्छ ।

मेची, कोशी र सगरमाथा लोकमार्ग पहाडी जिल्लाका लाइफलाइन हुन् । तर यी तीनवटै सडक पूर्वाधार ठाउँ-ठाउँमा जीर्ण र जोखिमपूर्ण छन् । कोशी लोकमार्गको धनकुटा खण्ड करिब १०० मिटर बाढीले बगाएको छ । मेची लोकमार्गको हेवा खोला र सगरमाथा लोकमार्गको सुनकोशी नदीमा पनि पुल छैन ।

नसुन भित्रिएको पहिलो दिन १६ जेठको वर्षाले उत्तर-दक्षिण कोशी लोकमार्गले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी र घण्टेबीचको सडक लेउती खोलाको बाढीले बगायो । करिब १०० मिटर सडक बगेपछि खोलाको धार फर्काएर सवारी सञ्चालन भइरहेको छ । तर यो स्थायी समाधान होइन, फेरि बाढी आए यातायात अवरुद्ध हुने जोखिम छ ।

लेउतीको बाढीले तीन वर्षअघि पनि सोही ठाउँमा सडक बगाएको थियो । तीन वर्षमा दुईपटक सडक बग्नुको कारण ८–९ वर्षअघि झरेको पहिरो हो ।

सेयर गर्नुहोस्