गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा हाल कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामै अमेरिका गएर उतैको नागरिकता लिएको आफूले सुनेको बताएका छन् । यसको वास्तविकता खुलाउन उनले रास्वपासँग आग्रह गरे ।
बुधबार प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्ने क्रममा गृहमन्त्री लेखकले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनु भिजिट भिसाको दुरुपयोग हो होइन ? भनेर रास्वपासँग प्रश्न गरेका हुन् । ‘रवि लामिछानेजी यो सदनको सदस्य । कुनै समयमा अमेरिकामा भिजिटरको रूपमा जानु भएको थियो । भिजिटर भनेको भिजिट भिसा नै हो । उहाँ भिजिट भिसा या भिजिटरको रूपमा जानु भएको होइन भने के भिसामा जानु भएको हो जानकारी गराइदिनु होला’ लेखकले संसद्मा भने, ‘भिजिट भिसामा गएकोले त्यसै देशको नागरिकता लिएर बस्न पाइछ कि पाइँदैन ? त्यो दुरुपयोग हो कि होइन ?’
लामिछाने भिजिट भिसामा अमेरिका गएर बसेकोबारे आफूले पहिलैदेखि सुने पनि पहिलो पटक संसद्मा यो कुरा राखेको उनले बताए । ‘भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका कार्यकर्ताका नेताले अरूलाई नैतिकताको पाठ पढाउनु हुन्छ कि हुँदैन ?’ उनले प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लिएर संसद्मा रास्वपाका सांसदहरूले अस्वाभाविक प्रश्न उठाएको भन्दै मन्त्री लेखकले यति सस्तो टिप्पणी नगर्न आग्रह गरे ।
‘भिजिट भिसा प्रकरणले एउटा कोर्स लिइसकेको छ, सरकारले गठन गरेको समितिले सुधारको काम गरिरहेको छ । हिजोआज फेरि प्रधानमन्त्रीसँगै स्पेनको भ्रमणमा गएका मान्छे उतै बसे भन्ने कुरा उठिरहेको छ’ मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको औपचारिक भ्रमणमा जाने मान्छे मन्त्रिपरिषद्को औपचारिक निर्णय हुन्छ । को को मान्छे जानुभएको थियो, को फर्केर आउनु भएन बताइदिनुस् न सरकारलाई सजिलो हुन्छ । कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन ।’
मंगलबार र बुधबारको बैठकमा रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री ओली गएको कार्यक्रममा भिजिट भिसाको नाममा नेपाली गएको र उतै बसेको दाबी गरेकी थिइन् ।