कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै रुरुका किसान

रुरुक्षेत्र गाउँपालिकाका किसानले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका छन् । गाउँपालिकाले सञ्चालन गरेको रुरु कृषि परियोजनाले किसानहरूलाई उत्पादन र उत्पादित उपजको बजारीकरणमा सहयोग गरेपछि उनीहरूले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका हुन् ।

रिडीका ७८ वर्षीय रामचन्द्र भट्टराईले गत वर्ष रुरु कृषि परियोजनामार्फत १०० मेवाका बिरुवा निःशुल्क पाउनुभयो । परियोजनाका प्राविधिकले मेवा लगाउने तरिका सिकाए । मकैखेती हुने बारीमा मेवाका बिरुवा लगाउनुभएका उहाँले यही असारको पहिलो हप्ता ६० हजारका मेवा बिक्री गर्नुभयो ।
“मकै लगाउँदा बाँदरले हैरान पाथ्र्यो, परीक्षणका रुपमा मेवा लगाएँ”, उहाँले भन्नुभयो, “सय वटा बिरुवा लगाउँदा ३५ वटा मात्र बाँचेका थिए ।” मेवा बिक्री गर्नुका साथै साथीभाइ, आफन्त तथा इष्टमित्रलाई समेत उहाँले पठाउनुभएको छ । उहाँले एक रोपनी क्षेत्रफलमा मेवा लगाउनुभएको हो । मेवा औसतमा प्रतिकेजी रु ४५ मा स्थानीय बजारमा बिक्री भएको थियो । उहाँले यही असारमा थप २०० बिरुवा लगाउनुभएको छ । “मकै लगाएको भए दुई मुरीबाट जम्मा आठ हजार मात्रै हुन्थ्यो, मेवा लगाएपछि आम्दानी धेरै नै वृद्धि भयो”, उहाँले भन्नुभयो, “बजारको पनि कुनै समस्या छैन ।” उहाँले यसै वर्ष ५० वटा आँपका बिरुवा पनि लगाउनुभएको छ ।

अर्का किसान ३४ वर्षीय पुष्प भट्टराईले पनि खुर्सानी बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । परियोजनाले गत वर्ष एनएस १७०० जातको खुर्सानीको बीउ दिएको थियो । सोही बीउबाट बिरुवा उत्पादन गरी अहिले उक्त बिरुवाबाट आम्दानी लिइरहेका छन् । एक रोपनीमा १४ सय बिरुवा लगाएका उहाँले अहिले खुर्सानी पैँचो पसल र स्थानीय बजारमा बिक्री गर्नुहुन्छ । स्थानीय बजारमा प्रतिकेजी रु १०० र पैँचोमा प्रतिकेजी रु ६७ मा उहाँले बिक्री गर्दै आउनुभएको छ । “लगाएको दुई महिनामा उत्पादन दिने रहेछ”, उहाँले भन्नुभयो, “अहिले घरमै बसेर मनग्य आम्दानी गरिरहेको छु ।” उहाँले एक हप्ताको अन्तरालमा तीन क्विन्टलसम्म खुर्सानी बिक्री गर्नुहुन्छ । खुर्सानीका साथसाथै उहाँले भिण्डी, बोडीलगायतका सागसब्जीखेती एवं बाख्रापालन समेत गर्नुभएको छ ।

रामचन्द्र र पुष्प व्यावसायिक खेतीमा आकर्षित भएका प्रतिनिधिमूलक पात्र मात्रै हुनुहुन्छ । उहाँहरूजस्तै रुरुका थुप्रै किसान पछिल्लो समय व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन् । रुरुक्षेत्र गाउँपालिकाले गत वर्षबाट रुरु कृषि परियोजना लागु ग¥यो । परियोजनाले बाख्रा, दूध, मासु, सागसब्जी, उखु, कुखुरा, गाईपालन, घाँसलगायतका क्षेत्रमा काम गर्दै आएको छ । यसले समग्र पालिकाको उत्पादन र किसानको आम्दानीमा वृद्धि भएको छ । “परियोजना लागू भएपछि घाँसको बिरुवा मिल्यो, जसले दूध उत्पादनमा टेवा पुगेको छ ।”

रुरुक्षेत्र–५ टाहाटिमका गाईपालक किसान मेघराज गिरीले भन्नुभयो, “दूध बेचेर प्रशस्त आम्दानी भइरहेको छ ।” उहाँले चारवटा लैना गाई पाल्नुभएको छ । उहाँ दैनिक ४५ लिटर दूध बिक्री गर्नुहुन्छ । दूधको मूल्य प्रतिलिटर रु ७० सम्म पर्छ । उहाँले बम्घाकै बम्घा बहुउद्देश्यीय सहकारी संस्थामार्फत दूध बिक्री गर्नुहुन्छ । सोही सहकारीमा अहिले १७९ जना शेयर सदस्य छन् । सबै शेयर सदस्यहरूले सहकारीमार्फत दूध एवं तरकारीको बजारीकरण गर्दै आएका छन् ।

सहकारीमा दूध बेचेरस्थानीय बाबुराम श्रेष्ठले मासिक रु एक लाख ८२ हजारभन्दा बढी आम्दानी गर्ने सहकारीका अध्यक्ष कुलचन्द्र पुरीले बताउनुभयो । “परियोजनाले भकारो सुधार, घाँसको बीउलगायतका विभिन्न प्राविधिक विषयमा सहयोग ग¥यो”, श्रेष्ठले भन्नुभयो, “अहिले हामी व्यावसायिक रुपमा दूध र सागसब्जीको उत्पादनमा लागेका छौँ ।”

रु ३५ लाखको सागसब्जी बिक्री

पालिकाद्वारा सञ्चालित परियोजनाले उत्पादनका साथै बजारीकरणमा पनि काम गरिरहेको छ । गत वर्ष मात्रै उत्पादन भएका टमाटर, सिमी, काँक्रो, लौका, खुर्सानीलगायत सागसब्जी पाल्पा र पैँचो पसलमा फरक–फरक मूल्यमा बिक्री भए । पचहत्तर टनभन्दा बढी सागसब्जी चालिसेले जानकारी दिनुभयो । हाल पालिकाभर १० हजार माउबाख्रा रहेको, एकता महिला उद्यमी बहुउद्देश्यीय सहकारीमार्फत बजारीकरण भइरहेको, उखुको प्रवद्र्धनको लागि बीउ वितरण र गुड, खुदो बनाउने उद्योग स्थापना गरेर किसानको आयआर्जन बढाइएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कृषि र पशुपालनलाई राजगारी माध्यम बनाउने पालिकाको लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो । किसानलाई मल, बीउ, प्राविधिक परामर्शलगायत पक्षमा पालिकाले सहयोग गरिरहेको बताउनुभयो । रासस

सेयर गर्नुहोस्