मनसुनजन्य विपद्‌बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ बमोजिम जिल्लामा ६६ हजार तीन सय ५० जना प्रभावित हुने अनुमान गरिएको हो ।

यस वर्षको मनसुनबाट प्रभावित हुने जनसङ्ख्या मुलुकभर १२ लाख ५० हजार अनुमान गरिएकामध्ये गण्डकी प्रदेशमा ६५ हजार छ सय ९९ परिवारका दुई लाख ८७ हजार एक सय प्रभावित हुने आँकलन गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
मनसुनजन्य जोखिमको हिसाबले गण्डकी प्रदेशमा तनहुँलाई पहिलो जोखिमयुक्त जिल्लाका रूपमा राखिएको उहाँको भनाइ छ ।

मनसुनजन्य विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न जिल्लाको प्रतिकार्य क्षमताको वृद्धि गरी प्रभावितहरूको आपतकालीन आवश्यकतालाई समयमा प्रभावकारी र समन्वयात्मक ढङ्गबाट पूरा गर्न प्रतिकार्य योजना बनाइएको अधिकारीले उल्लेख गर्नुभयो ।

प्रतिकार्य योजनामा जिल्लाभित्रमा विगतमा घटेका मनसुनजन्य विपद्का घटना तथा सोबाट भएका क्षति विश्लेषण गरी प्राथमिकता निर्धारण गरिएको छ । विपद्मा खोज तथा उद्धारका लागि तत्काल परिचालित हुनु र प्रतिकार्यमा हुने ढिलाइ तथा अन्योलता हटाउन जिम्मेवार तथा सहयोगी निकायको स्पष्ट जिम्मेवारी तोकी प्रभावकारी समन्वय तथा सञ्चार कायम गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार जोखिमको प्राथमिकताका आधारमा व्यास नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, भानु नगरपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, भिमाद नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, शुक्लागण्डकी नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ ।

देवघाट गाउँपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, बन्दीपुर गाउँपालिकामा पहिरो पहिलो र आगलागी दोस्रो, घिरिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, ऋषिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, आँबुखैरेनी गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो र म्याग्दे गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ ।

चालु आर्थिक वर्षमा मनसुनजन्य विपद्का घटनाहरूका आधारमा जिल्लामा जोखिमको प्राथमिकतामा पहिरो, बाढी, आगलागी, महामारी, चट्याङ, हावाहुरी र सुक्खा खडेरी रहेका प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनजन्य विपद्का घटनामा उद्धार तथा राहतमा प्रयोग गर्न खुला स्थान र आश्रयस्थल तयारी अवस्थामा छन् । रासस/फाइल फोटो

सेयर गर्नुहोस्