बागमती प्रदेशका कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव वैगुण्ठ अधिकारीले कृषिका कार्यक्रम अनुदान केन्द्रित भएको बताएका छन् । कृषि विकास कार्यालय चितवनले शनिवार सौराण्हामा आयोजना गरेको स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुसंग त्रैमासिक समन्वय गोष्ठीमा बोल्दै अधिकारीले कृषकलाई प्रविधिहरु वितरण भएपनि अनुदान केन्द्रित देखिएको बतादबकएका हुन् ।
‘हामी प्रविधि प्रसार, प्राविधिक सेवा र नियमनका कुरामा पछाडि छौँ’, अधिकारीले कृषि मन्त्रालय तथा स्थानीय तहले सञ्चालन कार्यक्रमलाई लक्षित गर्दै भने ‘अनुदान दिने विषयमा हामी अगाडि छौँ ।’ उनले अनुदान वितरणमा प्रविधि गएपनि त्यो देखिनेगरी काम हुन नसकेको बताए ।
उनले कृषिका कार्यक्रम सञ्चालन गर्दा नदोहोरिने गरी संघ, प्रदेश र स्थानीय तह मिलेर योजना बनाउनुपर्ने बताए । ‘तीन तहको कार्यलाई व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध विषयमा ऐन २०७७ वनेको छ । यसले कृषिको नीति योजना र कार्यान्वयन गर्दा संग संगै जानुपर्ने लेखेको छ,’ उनले भने ‘विगतमा संघ प्रदेश, स्थानीयले एक अर्कासंग किन समन्वय गने भन्ने थियो अहिले सबैको उद्देश्य एउटै भएकाले समन्वय गर्नुपर्छ भन्ने छ ।’
अहिले कृषि क्षेत्रमा कर्मचारीको उपस्थिती राम्रो कृषिलाई जुरुक्क उठाउने समय भएको समेत बताए । ‘संघियतामा जानुभन्दा अगाडि पाँच हजारको हाराहारीमा कृषिमा कार्यरत कर्मचारी थियौँ । अहिले त्यसको दुई गुणाभन्दा बढी छौँ,’ उनले भने ‘अहिलेको जनशक्तिको हिसाबले कृषिलाई जुरुक्क उठाउनुपर्ने समय हो ।’
स्थानीय तहले कृषिमा न्यून बजेट विनियोजन गर्ने गरेकाले त्यसलाई बृद्धि गर्नका लागि कृषि प्राविधिकहरुले पनि पहल थाल्नुपर्ने धारणा अधिकारीले राखे । ‘कुनै पालिकाले शुन्य दशमलव २ प्रतिशत मात्र बजेट विनियोजन गरेका पाएका छौँ’, उनले भने ‘यसमा स्थानीय तहहरु पनि लाग्नुपर्ने देखिएको छ ।’
कार्यक्रममा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीले तीन तहका कर्मचारी बिच समन्वयन हुन आवश्यक रहेको धारणा राखे । ‘कृषिमा काम गर्ने कर्मचारीको धारणा र उद्देश्य एउटै हो’,कार्यालय प्रमुख रेग्मीले भने ‘तीनै तहका मिले काम गर्नुपर्दछ ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेलले कृषिका कार्यक्रममा दोहोरोपना घटाउने उद्देश्यले स्थानीय तहमा कार्यरत कृषि प्रविधिसँगको गोष्ठिको आयोजना गरिएको बताए ।
कार्यक्रममा चितवन र मकवानपुरका १४ स्थानीय तह, कृषि विकास कार्यालय चितवनको आर्थिक वर्ष २०८१/२०८२को वार्षिक प्रगती प्रस्तुत गरिएको थियो । सो क्रममा ६० देखि ८० प्रतिशतसम्म आर्थिक प्रगती भएको कृषि प्राविधिकले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कृषि विकास कार्यालय चितवनका अर्थ विज्ञ निर्मल शर्माले कृषि विकास कार्यालयको बार्षिक प्रगती ७१ प्रतिशत भएको बताए ।
कतिपय योजनाहरु ठाउँ विशेष तोकिएर आउँदा काम गर्न कठिन भएको रत्ननगर नगरपालिकाका कृषि अधिकृत प्रविण लामाले जानकारी दिए । ‘प्रदेशबाट वडा तोकिएर आउँछ । त्यहाँ काम गर्ने कृषक भेट्न सक्दैनौ’ँ, उनले भने ‘कार्यक्रम तोकेर आउँदा काम गर्न समस्या भयो ।’






