चितवनबाट तीस हजार बढीले लिए सवारी लाइसेन्स, ६८ प्रतिशत फेल

चितवनमा सवारी चालक अनुमती पत्र (लाइसेन्स)को परीक्षा दिने मध्ये ६८ प्रतिशत फेल भएको पाइएको छ । यातायात व्यवस्था कार्यालय चितवनका अनुसार, लाइसेन्स परीक्षा सुरु भएपछि एक लाख १२ हजार २ सय ७ जनाले निवेदन दिएकोमा ३० हजार ६७८ जना उत्र्तिण भएका छन् । चितवनबाट २०८० बैशाख ३ गतेबाट लाइसेन्स दिन थालिएको थियो । त्यस यत्ता यहाँको उत्र्तिण दर ३२ प्रतिशत रहेको यातायात व्यवस्था कार्यालय चितवनका अधिकृत तेजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार अधिकांश मानिसहरु तयारी नगरी परीक्षा दिन आउँदा उत्र्तिण दर कम रहेको हो ।

यातायात व्यवस्था कार्यालयले महालक्ष्मी ट्रायल सेन्टरबाट ट्रायल परीक्षा लिँदै आएको छ । यहाँ परीक्षा दिएका मध्ये १८ हजार ३२७ जनाले मोटरसाइकलको लाइसेन्स लिएका छन् । यसको लाइसेन्सका लागि ५५ हजार ५२४ जनाले परीक्षा दिएका थिए । छ हजार ८३६ जनाले कार र जीपका लाइसेन्स लिएको अधिकारीले जानकारी दिए । \

उनका अनुसार कार र जीपका लागि २६ हजार पाँच जनाले निवेदन दिएका थिए । यस्तै स्कुटर÷मोपडको लाइसेन्स दश हजार ८३६ जनाले लिएका छन् । यसका लागि ३० हजार ९० जनाले निवेदन दिएको यातायात व्यवस्था कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ । यस्तै यो अवधिमा यहाँबाट ३५ हजार ६५४ जनाले लाइसेन्सको नविकरण गरेका छन् । पछिल्ला महिनामा लासेन्स दिने मानिसहरुको संख्या घट्दै गएको अधिकारीले बताए । ‘सुरुवाती चरणमा जस्तो लाइसेन्स दिने मानिसहरुको संख्या छैन,’ अधिकारीले भने ‘यसको कारण पत्ता लगाउन सकिएको छैन यो अनुसन्धानको क्रममा नै छ ।’ यहाँबाट चितवन, नवलपरासी पूर्व, तनहुँ, गोरखा, धादिङ, मकवानपुर, लम्जुङ, बाग्लुङ लगायतका जिल्लाबाट समेत आएर लाइसेन्स लिने गरेको उनले बताए ।
यत्ता यस कार्यालबाट ११ महिनाको अवधिमा २१ हजार ६०५ वटा सवारी साधन दर्ता भएका छन् । त्यसमध्ये ५४ वटा सवारी सरकारी रहेका यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए । सबैभन्दा बढी सवारी दर्ता हुनेमा मोटरसाइकल रहेका छन् । ४० वटा सरकारी सहित १९ हजार ४९६ वटा मोटरसाइकल, स्कुटर र मोपेड दर्ता भएका छन् । कार, जीप, भ्यान र पिकअप गरेर ७३४, बस र ट्रक ३६७, अटो र टेम्पो ९७२ र ट्रेक्टर ३६ वटा दर्ता भएको पौडेलले जानकारी दिए । नयाँ सवारी साधान सबैभन्दा बढी असोज महिनामा तीन हजार ५६२ वटा खरिद भएका छन् । सबैभन्दा कम साउन महिनामा ९८९ वटा खरिद भएको उनले बताए ।

कार्यालयले चालु आर्थिक वर्षको असार २५ गतेसम्म ९४ करोड ६ लाख ३६ हजार ३६९ रुपैयाँ राजश्व संकलन गरेको छ । सबैभन्दा बढी सवारी साधान करमा ६६ करोड ३७ लाख दश हजार २६६, चालक अनुमति पत्र, सवारी दर्ताबाट २२ करोड ९० लाख ४८ हजार, यातायात क्षेत्रको आम्दानी चार करोड ६० लाख ९३ हजार ७७८, प्रशासनिक दण्ड जरिवाना र जफत बाट एक करोड ५७ लाख २ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट एक लाख २ हजार रुपैयाँ राजश्व संकलन गरेको उनलेब बताए ।

सेयर गर्नुहोस्