अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता फुकाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन् । जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भए पनि कानुनी जटिलता देखिएपछि राष्ट्रपति पौडेल परामर्शमा जुटेका हुन् ।
कानुनविद्हरुसँग परामर्श भइरहेको समयमा जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छ । जेनजी प्रतिनिधिहरू पनि संविधान बमोजिम नै निकास खोज्ने विषयमा सकारात्मक रहेकोले आजै अन्तरिम सरकार गठन हुने देखिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले आज बिहान मात्र गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागत गर्न तयार अवस्थामा रहन निर्देशन दिएको थियो ।