मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई आन्दोलनमा सहभागी भएकै आधारमा मन्त्री छनोट नगर्न सुझाव दिएका छन्। प्रधानमन्त्री कार्कीलाई शुभकामना व्यक्त गर्दै मन्त्रिपरिषद गठनमा तत्काल निर्णय नगरी गहिरो विचार-विमर्श गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्। यो सावधानी र जिम्मेवारीपूर्ण दृष्टिकोण आफूहरूको आन्दोलनको मूल मर्मसँग पूर्णतः मेल खाने ऐतिहासिक निर्णय भएको प्रसाईँले बताए।
उनले आगामी मन्त्रिपरिषदमा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक र नीतिगत विज्ञ हुनु अनिवार्य रहेका भनाइ राखे। सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, आगामी मन्त्रिपरिषदमा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक र नीतिगत विज्ञ हुनु अनिवार्य छ। केवल आन्दोलनमा उपस्थित भएको आधारमा छनोट गर्नु उचित हुनेछैन। देशलाई सही बाटोमा डोऱ्याउन सक्ने दक्ष, योग्य र ईमानदार व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिइनुपर्छ। जेन-जीको कोटा पनि यस्तै दक्ष व्यक्तिलाई दिइनुपर्छ। जेन-जीहरूको साहस र बलिदानले मुलुकलाई नयाँ दिशा दिएको बताउँदै प्रसाईँले भने, तपाईंहरूले जगाएको आशा अब नेपालको भविष्यको आधारशिला बनेको छ।