कांग्रेस चितवनले मनायो ११ औं संविधान दिवस

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले शुक्रबार ११ औं संविधान दिवस मनाएको छ । ‘संविधान कार्यान्वयनका चुनौती र समाधान’ विषयक विचार गोष्ठी गर्दै कांग्रेसले संविधान दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले नेपालको संविधान आवश्यक संशोधन गरी जेन–जी पुस्ताको अपेक्षा अनुरूप स्थायी सरकार निर्माण र भ्रष्टाचारमुक्त समाज स्थापना गर्नुपर्नेमा जोड दिए ।

संविधानसभा सदस्य शेषनाथ अधिकारीले संविधान र व्यवस्थाको रक्षा सबैको जिम्मेवारी भएको उल्लेख गर्दै निर्धारित समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सबै नागरिक सचेत रहनुपर्ने धारणा व्यक्त गरे ।

जिल्ला सभापति राजेश्वर खनालले नेपाली कांग्रेस जेन–जी पुस्ताको मागलाई आत्मसात गर्न तयार रहेको प्रतिवद्धता जनाए । विचार गोष्ठीमा विषयसंग सम्बन्धित धारणा वरिष्ठ अधिवक्ता एकनारायण सापकोटा, नेपाली कांग्रेस चितवनका कानुनी सल्लाहकार अधिवक्ता गोबिन्द सिग्देल, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ चितवनका अध्यक्ष श्रीराम दवाडी, तथा जेन–जी युवा समूहका तर्फबाट युवा कानुन व्यवसायी उमङ्ग लोहनीले आफ्नो भनाई राखेका थिए ।

वक्ताहरूले संविधान अनुसार आवश्यकताको सिद्धान्तका आधारमा राष्ट्रपतिद्वारा सरकार गठन भएको उल्लेख गर्दै निर्धारित समयमा निर्वाचन हुनुको विकल्प नभएको स्पष्ट धारणा प्रस्तुत गरेका थिए ।

जिल्ला सचिव ध्रुवराज पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सदस्यहरू, कानुन व्यावसायी, प्राध्यापक लगायतका सर्वसाधारणलगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्