चितवन राइनोजले सार्वजनिक गर्‍यो नयाँ जर्सी

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि चितवन राइनोजले नयाँ जर्सी सार्वजनिक गरेको छ । अरेन्ज (सुन्तला) रङ र कालो रंगको आकर्षक संयोजनमा बनेको नयाँ जर्सी केवल खेलाडीको पोशाकमात्र नभइ चितवनकै संस्कृति, प्रकृति र पहिचानको प्रतिनिधित्व गर्ने क्लबले जनाएको छ ।

‘नयाँ जर्सीको मूल आधार अरेन्ज रङ हो । यसका लागि चितवनको सूर्योदय र सूर्यास्तको आकाशबाट प्रेरणा लिइएको छ । यसलाई पूरक बनाउन कालो रंग प्रयोग गरिएको छ, जसले शक्ति, सहनशीलता र एकताको भाव बोकेको छ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ । क्लबका अनुसार, जर्सीमा अत्याधुनिक फ्याब्रिक प्रयोग गरिएको छ । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्नेमात्र होइन, खेलाडीको श्वासप्रश्वास र गतिशीलतालाई पनि सहज बनाउने छ ।

‘चितवनका आदिवासी समुदायको कलाकौशलबाट प्रेरित छ, जसले गति, निरन्तरता र विकासलाई जनाउँछ । जर्सीको टेक्स्चरमा गैंडाको छालाको झल्को छ, जसले सुरक्षात्मक कवच र धैर्यको प्रतीक प्रस्तुत गर्छ । एकसिङ्गे गैंडा चितवनको आत्मा, शक्ति र लडाकु भावनाको प्रतीक हो । अफिसियल लोगो निडरता, गौरव र साझा उद्देश्यमा एकताको प्रतिबिम्ब हो,’ क्लबले भनेको छ ।

नयाँ जर्सी काठमाडौं उपत्यकामा जर्सीपुलबाट उपलब्ध हुने क्लबले जनाएको छ । साथै, चितवन राइनोजको आधिकारिक वेबसाइट, चितवनस्थित मर्च स्टोर र अफिसियल सामाजिक सञ्जालमार्फत् पनि खरिद गर्न सकिने बताइएको छ ।

सेयर गर्नुहोस्