देश शोकको स्थितिमा रहेकाले परिवारसँग मात्रै दसैँ मनाउँछुः पूर्वराजा ज्ञानेन्द्र

देश विध्वंस र शोकको स्थितिमा रहेकाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र दसैँ मनाउने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बिगार्ने, भत्काउने, जलाउने नभई अब सपार्नेतिर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

आइतबार (असोज १२) जारी बडादसैँको शुभकामना सन्देशमा उनले यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको उल्लेख गदैँ शुभेच्छुकलाई आफूले टीका र जमरा प्रदान नगर्ने उनले जानकारी गराएका छन् । “हाम्रो आमशुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैँ हामीबाट बृहत् रूपमा टीका, जमरा प्रदान नहुने जानकारी गराउँदछौँ,” उनले भनेका छन् ।

शुभकामना सन्देशमा उनले यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको उल्लेख गरेका छन् । “हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो,” उनले भनेका छन्, “हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ,” उनले भनेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशः
प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
हामी नेपालीहरूको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ । नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदान प्रदान गरिने दशैँ पर्वको शुभ अवसरमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरूमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं ।

हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड हो । यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ । कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।

हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो । हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनो भावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ । विगतको केही समय यता देश र जनताको सर्वोत्तम हितका खाँतिर हामीले गहिरो चिन्ता, चासो तथा सङ्लो दृष्टिकोण अघि सार्दै आएको थियौं । नयाँ – पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधी र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ । युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मुल्य मान्यताको ख्याल राख्नै पर्दछ । युवा पुस्ता हाम्रा भविश्यका आधारस्तम्भ हुन । उनीहरूमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ । यही समयको माग हो । हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें । अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अधि बढ्नु पर्दछ ।

सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनै पर्दछ । जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।

यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारीक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं । हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं । श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथ तर्फ अग्रसर राखून् यही हाम्रो कामना । जय नेपाल !

सेयर गर्नुहोस्