भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ भारत प्रस्थान गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट आज (सोमबार) अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन मन्त्री कुलमान भारत प्रस्थान गरेका हुन् ।

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा (कार्तिक १० देखि १३) सम्म हुनेछ । आईएसएमा आवद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालकोतर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारत प्रस्थान गर्दा विमानस्थलमा घिसिङले भीआईपी सुविधा नलिइ गएपछि उनको चर्चा भएको छ । साधारण नागरिक झै मन्त्रीको यात्रा भन्दै घिसिङको प्रशंसा बढेको छ।

सेयर गर्नुहोस्