नारायणी किनारमा भूपिनको नयाँ कृति ‘मध्यको उज्यालो’ विमोचित

चर्चित साहित्यकार भूपिन खड्काको नयाँ निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ गैँडाकोटको नारायणी किनारमा विमोचित भएको छ । निबन्धकार भूपिन, कवि गोविन्दराज विनोदी, लेखक तथा साहित्यकार रोशन शेरचन, समालोचक डा. एक नारायण पौडेल र निमेष निखिल, समालोचक सामना पहाड, बुक हिलका  प्रबन्धक भूपेन्द्र खड्का, अक्षर समूहका अध्यक्ष लेखराम सापकोटाले संयुक्तरुपमा कृतिको विमोचन गरेका हुन् ।
 अक्षर समूहका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक भूपिनले कृतिमा आफू इमान्दार बनेको बताए । उनले भने, ‘इमान्दार भएर लेख्नुपर्छ । म यो कृतिमा पूर्णतया इमान्दार भएर लेखेको छु । यो मेरो वैचारिक प्रस्ताव हो । सबै पाठक मेरो विचारसँग सहमत हुनुपर्छ भन्ने छैन ।’ कार्यक्रममा समालोचकले उठाएका विषयको सम्बोधन गर्दै उनले आफूले उपन्यासमा वैचारिक विविधता दिने प्रयास गरेको बताए । उनले आफू पुस्तकमा भावुक देखिए पनि जीवनप्रति आशावादी भएको विचार राखे ।
लेखक तथा समालोचक डा रोशन शेरचनले भूपिनको निबन्ध सङ्ग्रहमा पर्यावरणप्रतिको प्रेम रहेको बताउँदै उनी दर्शन र बौद्धिकतामा बहस निम्त्याउन सक्ने लेखक भएको बताए । उनले भने, ‘ पुस्तकमा आत्मपरक निबन्धको बेजोड प्रस्तुति रहेको छ । उनी पुरातन र अतिवादी सोचको विपक्षमा छन् । उनका पर्यावरणसम्बन्धी निबन्धमा भय र उत्सुकताको मिश्रण पाइन्छ ।’ उनले भूपिनले निबन्धमा एआईको जोखिमबारे सचेत रहनुपर्छ भन्ने सन्देश दिन खोजेको विचार राखे । उनले भने, ‘भूपिन कला, संगीत र सिनेमालाई बुझ्न चाहने लेखक हुन् । कलातिर उनको झुकाव देखिन्छ । उनी करुण, प्रेम र अहिंसाको हिमायती छन् ।’
त्यस्तै बुक हिल प्रकाशन गृह र अक्षर समूह चितवनले संयुक्त रुपमा गरेको कार्यक्रममा समालोचक डा एकनारायण पौडेलले निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ सचेतरुपमा लेखिएको किताब भएको बताए । उनले भने, ‘ भूपिन जे काम गर्नुहुन्छ । अरु भन्दा फरक ढंगले गर्छन् । उनले नयाँ कृतिमा विषयमा विविधता दिएका छन् । विवरणात्मक, आख्यात्मक, सम्बोधन, तार्किक र वैचारिक शैली निबन्धहरुमा प्रयोग गरेका छन् ।’
कार्यक्रममा प्रा. डा. निमेष निखिलले निबन्ध सङ्ग्रहलाई दार्शनिक परिपक्कताको दस्तावेज हो भन्दै जीवन, चेतना र ज्ञानको उज्यालो लेखकले खोजेको बताए । समालोचक डा. निखिलले पुस्तकमा बौद्धिक चेतनाको सम्पूर्ण नक्सा देखिएको विचार राखे । उनले वर्णविन्यास र शब्दहरुमा केही त्रुटिहरु रहेको जानकारी गराए । कृति ‘मध्यको उज्यालो’ ले आधुनिक नेपाली निबन्धलाई नयाँ उज्यालो दिएको उनले दाबी गरे । उनले भने, ‘ निबन्धमा झिनामसिना कुराबाट जीवनका सत्यहरु जोड्ने काम भूपिनले गरेका छन् । प्रकृति, यात्रा र मानव अस्तित्वको चित्रण निबन्धहरुमा पाइन्छ ।’
कार्यक्रममा पाठकीय समीक्षा राख्दै सामना पहाडले भूपिनले नारी अस्मिता र आमालाई निबन्धमा सम्मान गरेको विचार राखिन् । उनले लैङ्गिक र समावेशिताको कोणबाट उपन्यास उत्कृष्ट रहेको बताइन् । त्यस्तै, अर्का समालोचक उदय अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रममा भूपिन वैचारिकरुपले साहित्यलाई बहसमा ल्याउने व्यक्ति भएको बताए । उनले भने, ‘१० वर्ष अगाडिको निबन्ध सङ्ग्रह २४ रिल भन्दा यस कृतिमा भूपिनको दार्शनिकताको रुझान झन् बलियो भइरहेको छ । उनी परिपक्क बनेका छन् । दर्शनलाई सजिलोसँग पाठकसम्म पु¥याएका छन् । कवितात्मक भाषाले पाठकलाई सिधै तान्छ ।’ कार्यक्रममा बुक हिल प्रकाशनका प्रबन्धक भूपेन्द्र खड्काले छपाइको स्तर र लेखाइको स्तरले गर्दा पुस्तकको मूल्य केही महंगो परेको बताए । निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’मा २० वटा निबन्धहरु सङ्ग्रहित रहेका छन् । भूपिनको यो दोस्रो निबन्धसङ्ग्रह र सातौ कृति हो । निबन्धसहित उनी कविता र उपन्यास विद्यामा पनि उत्तिकै कलम चलाउँछन् ।
सेयर गर्नुहोस्