शारदानगर जेसीजले एक्सपर्ट एजुकेसनको सहयोगमा चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला र पानी पिउने बोतल सहयोग गरेको छ । विद्यालयमा परिसरमा एक कार्यक्रम गर्दै १ सय ५९ जना विद्यार्थीलाई विद्यालयमा प्रयोग हुने झोला र बोतल सहयोग गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं.६ का वडा अध्यक्ष लक्ष्मण प्रजा, एक्सपर्ट एजुकेशन चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाल, शारदानगर जेसीजकी अध्यक्ष लक्ष्मी केसीलगायतले विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।

सो क्रममा बोल्दै वडा अध्यक्ष प्रजाले पहाडी क्षेत्रका विद्यालयहरु भौतिक पूर्वाधारको अभावसंगै विद्यार्थीहरुलाई विभिन्न सामग्री अभाव हुने गरेको स्मरण गर्दै यस्तै सहयोगको आवश्यकता रहेको बताए । जेसीजकी अध्यक्ष केसीले जेसीजले यस ठाउँमा विगतदेखि नै विभिन्न सहयोगहरु गर्दै आएकोमा यसपटक पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले झोला वितरण गरिएको बताइन् । उनले सहयोगका लागि एक्सपर्ट एजुकेशनलाई धन्यवाद दिइन् ।
एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले विपन्न समुदायको शिक्षामा एक्सपर्टले विगतदेखि नै सहयोग गर्दै आएको भन्दै यस ठाउँमा पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि एक्सपर्टले विपन्न समुदायको शिक्षामा सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।
कक्षा ८ सम्म अध्यापन हुने यस विद्यालयमा अध्ययनरत १ सय ५९ मध्ये १ सय ५५ जना चेपाङ रहेको प्रधानाध्यापक ज्ञानु पाण्डेले जानकारी दिनुभयो । उहाँले त्यस क्षेत्रमा विद्यार्थीलाई भन्दा बढी अभिभावकलाई सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।










