सुदूरपश्चिम रोयल्सको विजयी शुरूआत, काठमाडौं २९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विजयी शुरूआत गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको हो । जितका लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो ।

केवल २७ रनको कूल स्कोरमा माथिल्ला चार प्रभावशाली ब्याट्सम्यानलाई गुमाएपछि दबाबमा परेको सुदूरपश्चिमका लागि हरमित सिंहले आक्रामक अर्धशतकीय पाली खेलेपछि बुधबारको खेलमा काठमाडौं गोर्खाजलाई हराउन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौंका ब्याटर निरिह सावित भए।

सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद, अविनाश बोहरा र दीपेन्द्र सिंहले समान एकरएक विकेट लिए । काठमाडौंका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रनको योगदा नगरे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । पहिलो ओभरमै काठमाडौं​ गोर्खाजका बलर करण केसीले सुदूरपश्चिमको दुवै ओपनरलाई पेभेलियन फर्काए । दुवै ओपनरले खातासम्म खोल्न सकेनन् । टोलीको कप्तानसमेत रहेका करणले पहिलो ओभरको दोस्रो बलमा जोस ब्राउन र छैटौं बलमा विनोद भण्डारीलाई पेभेलियन फर्काएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका क्रिस लिन पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी केवल दुई रन बनाउँदै आउट भए । क्रिस लिनको विकेट पनि करणले नै लिएका थिए । इशान पाण्डे पनि केवल ११ रन बनाउँदै चौथो विकेटका रूपमा आउट भए । छैटौं ओभरको अन्तिम बलमा चौथो विकेट गुमाउँदासम्म त्यतिबेला सुदूरपश्चिमले केवल २७ रन बनाएको थियो । त्यसपछि आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको स्कोरलाई ५२ रनको स्थितिसम्म डोर्‍याएका थिए ।

पाँचौं विकेटका रूपमा आरिफ शेख २५ रन बनाउँदै आउट भए । उनले २४ बलमा तीन चौका पनि हिर्काए । त्यसपछि, कप्तान दीपेन्द्र र नरेन साउदले टोलीको स्कोरलाई ७२ रनसम्म पुर्‍याएका थिए । छैटौं विकेटका रूपमा नरेन ६ रन बनाउँदै पेभेलियन फर्किए ।

नरेन आउट भएपछि क्रिज समाल्न आएका हरमित सिंहले दीपेन्द्रसँग मिलेर गजबको पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहँदा यी दुई अनुभवी ब्याट्सम्यानले स्कोरलाई एक सय ३३ रनको सन्तोषजनक स्थितिसम्म डोर्‍याएका थिए । दीपेन्द्र ३९ रन बनाउँदै सातौं विकेटका रूपमा पेभेलियन फर्किए । उनले ३० बलमा एक छक्का र तीन चौका पनि हिर्काए । त्यसपछि क्रिज समाल्न आएका स्कट कुगेलियन केवल एक रन बनाउँदै आठौं विकेटका रूपमा पेभेलियन फर्किए ।

नवौं विकेटका रूपमा पेभेलियन फर्किनुअघि हरमित सिंहले अर्धशतक बनाइसकेका थिए । उनले केवल २० बलमा ६ छक्का र दुई चौकाको मद्दतले ५३ रन बनाए । हेमन्त धामी तीन रनमा अविजित रहे । अविनाश बोहरा एक रन बनाउँदै आउट भए ।

काठमाडौं​ गोर्खाजका बलर करण केसीले चार विकेट लिए । उनले चार ओभरमा ३० रन खर्चिए । मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले पनि दुईरदुई विकेट हात पारे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा ६ रन पायो ।

सेयर गर्नुहोस्