गरिमा विकास बैंकको १९ औं वार्षिकोत्सवमा १९ वटा सामाजिक काम

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव कार्यक्रममा देशका विभिन्न स्थानमा १९ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गरेको छ । बैंकले आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत संकलन भएको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले १९ औं वार्षिकोत्सवको अवसर पारेर १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरिएको बताउनुभयो । उहाँका अनुसार आज (आईतबार) मात्रै देशका ८ स्थानमा रक्तदान कार्यक्रम गरिएको छ । बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाण्डौको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको वेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत संकलन भएको रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी देशका विभिन्न १६ स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै श्री निस्कोट स्वास्थ्य चौकी म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातीर्थ वृद्धाश्रम समिति चन्द्रागिरी काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको रेग्मीको भनाई छ ।

त्यसैगरी “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नाराका साथ विकास बैंकले शनिबार गरिमा रोड रेस अन्तर्गत एक हजार भन्दा बढी धावकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने र रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको रेग्मीले बताउनुभयो ।

यसैबीच आज नारायणगढमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेको शाखा प्रमुख तोया अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १३ जना महिला र ६८ जना पुरुषले रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बि.सं.२०६३ सालमा स्याङ्जाबाट तीन जिल्लाको कार्य क्षेत्र र दुई करोड ६४ लाख रुपैयाँको पूँजीबाट गरिमा विकास बैंक शुरु भएको बताउनुभयो । उहाँले १९ औं वर्षमा प्रवेश गर्दै गर्दा देशका ३८ वटा जिल्लामा १२६ वटा शाखा पुगेको र ६ अर्ब दुई करोड रुपैयाँ पूँजी पुगेको बताउनुभयो । बैंकमा एक हजार ५० जना कर्मचारी रहेको भन्दै उहाँले १० लाख सेवाग्राही र ४० हजार ऋणी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “१९ वर्ष अघि सानो रुपमा शुरु भएको बैंक आज यहाँसम्म आईपुगेको छ ।” उहाँले गरिमा विकास बैंक विकास बैंकहरु मध्येको कतिपय सूचकांकमा प्रथम र कतिपयमा दोस्रो स्थानमा रहेको बताउनुभयो ।

“हाम्रा शुभचिन्तक, शेयरधनी, कर्मचारी, सेवाग्राही र प्रत्यक्ष अप्रत्यक्ष हामीसँग जोडिनु भएका सबैको साझा प्रयास र ठूलो योगदानले बैंकलाई सफल बनाउन पुगेको छ ।” नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले भन्नुभयो । यो इतिहास बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । कर्मचारीहरुको लगनशीलताको पनि उहाँले खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रममा शुक्रपथ टोल विकास संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठ, बैंकका नारायणगढ क्षेत्रीय प्रमुख कुमार गुरुङ लगायत विभिन्न शाखाका प्रमुख, पत्रकार र कर्मचारीहरुको उपस्थिति रहेको थियो । यसैगरी सत्य साई राष्ट्रिय परिषद् नेपाल चितवनलाई बैंकले आजै वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले परिषद्लाई उक्त डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो

सेयर गर्नुहोस्