वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका पूर्व विद्यार्थी (व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका) ले हाम्रो घरका बालबालिकालाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् ।
व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका विद्यार्थीहरुले आफ्नो समूह बनाएर भरतपुर महानगरपालिका – ३ मा रहेको हाम्रो घर नामक बाल संरक्षण तथा पुनःस्थापना केन्द्रमा सहयोग गरेका हुन् । ५५ जना विद्यार्थीले आर्थिक सहयोग गरेका थिए भने हस्तान्तरण गर्नका लागि एक दर्जनभन्दा बढी विद्यार्थीहरु हाम्रो घर पुगेका थिए ।
पूर्व विद्यार्थी समुहका एक अगुवा सपन न्यौपानेका अनुसार शनिबार विद्यार्थी समुहले न्यानो कपडा (तलमाथि लगाउने ट्रयाक सेट), खाद्यान्नहरुमा बिस्कुट, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका हुन् । हाम्रो घरमा रहेका सबै २४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
न्यौपानेले समाजप्रतिको जिम्मेवारी वहन गर्दै भविष्यमा पनि यस्ता सहयोगमुलक कार्यहरु निरन्तर गर्ने बताए । उनी भन्छन्, ‘सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उद्देश्यका साथ यो पहल गरेका हौं ।’
हाम्रो घर संस्थाका गंगा सिग्देलले पूर्व विद्यार्थीहरुले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै बालबालिकाको हेरचाह र संरक्षणका लागि यस्ता सहयोगहरुले थप ऊर्जा मिलिरहने बताइन् ।
बिछोडिएका साथीहरु पुनः एकाकार भई यस किसिमका सामाजिक गतिविधि गर्नु निकै प्रसंशनीय कार्य हो । यस कार्यको अहिले क्याम्पसमा चर्चा भइरहेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका विद्यार्थीले क्याम्पसका युवाहरुलाई सामाजिक उत्तरदायित्वप्रति जागरुक बनाउन तथा समुदायमा सकारात्मक सन्देश फैलाउनका लागि एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।







