माज सदाकत र अनिकुमार साहको अर्धशतकमा साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदानमा मंगलबार चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकाल्यो । जितसँगै जनकपुरले पाँच खेलमा दुई अंक जोडेको छ । पारजित चितवनको समान खेलबाट चार अंक छ ।
चितवनले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका लागि सदाकतले ३० बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी अनिलले ३६ बलमा चार चौका र तीन छक्कासहित ६१, आदित्य महताले अविजित १८ र जान निकाले लोफ्टी इटोनले ११ रन बनाए । दोस्रो विकेटका लागि सदाकत र अनिलले ७९ रनको साझेदारी गरेका थिए । चितवनका लागि सोहल तनवीर, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ७६ रनको योगफल तयार पारेको थियो । चितवनका लागि डेविड मलानले ५४ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी अर्जुन साउदले ३९ बलमा चार चौका र तीन छक्काको मद्दतले ५२ र कप्तान कुशल मल्लले अविजित ३० रन बनाए ।
पहिलो विकेटका लागि मलान र अर्जुनले १ सय १२ रनको साझेदारी गरेका थिए । जनकपुरका लागि जान निकोल लोफ्टी इटोन, अनिलकुमार साह, माज सदाकत र आदित्य महताले एक–एक विकेट लिए ।







