दुई वर्ष तीन महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भरतपुर महानगर सिटीहल पाँच वर्ष पुग्दा पनि अधुरै छ । विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ ।
विसं २०८२ जेठमा हुरीका कारण भवनका ट्रष्ट उडाएपछि काम रोकिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी द्रोणमानदेव कटुवालका अनुसार सिटीहलको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । तीनपटक म्याद थप गर्दा समेत निर्माणले गति लिन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद विसं २०८३ असार २५ गते सकिँदैछ ।
भरतपुर महानगरपालिका–१० जिल्ला समन्वय समिति नजिकै निर्माणाधीनमा रहेको यस हलको निर्माण कम्पनीको ढिलासुस्ती र दिइएको ‘डिजाइन’अनुसार काम गर्दा देखिएको प्राविधिक समस्याका कारण काममा ढिलाइ भएको हो । केही दिनअघि मात्रै पुनः डिजाइन गरिएको ट्रस्टको नक्सा निर्माण कम्पनीलाई दिइएको र अहिले ट्रष्ट बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब तत्काल हामी ट्रष्ट निर्माण सुरु गराएसँगै अन्य संरचना निर्माणले समेत गति पाउने छ ।” रु एक अर्ब २० करोड लागत अनुमान गरिएको सिटीहल निर्माण इन्डो सगुन रौताहा जेभीले रु ७७ करोड ७७ लाखमा ठेक्का सकारेको थियो ।
बाइपास सडकसँगै जिल्ला समन्वय समितिको नाममा रहेको चार बिगाह चार कट्ठा जमिन भरतपुर महानगरपालिकाको नाममा लगेर सिटीहल निर्माण थालिएको हो । हाल सिटीहलको भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लास्टर, प्लम्बिङलगायतका कामहरु भइरहेको उहाँले बताउनुभयो ।
सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल बन्ने छ । साथै ३०० जना अट्ने क्षमताको सभा हल पनि रहनेछ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ र दुईवटा लिफ्ट, प्रवेशद्वार, स्टेज, रिहर्सल कक्ष पनि रहनेछन् । मुख्य ब्लक ६ हजार ५०० वर्गमिटरमा निर्माण हुनेछ । रासस







