नेपालमा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका भारतको केरला राज्यका नागरिकहरु संगठित हुन थालेका छन् ।
पहिलोपटक नेपालमा केरलाबासीहरुले विश्व मलयाली परिषद् (डब्लुएमसी) गठन गरेका छन् । विश्व मलयाली परिषद् विभिन्न देशहरूमा बसोबास गर्ने केरलवासीहरूको विश्वव्यापी डायस्पोरा हो । यो परिषद् हाल ६० देशमा एकाई (प्रान्तहरु)को रुपमा रहेको छ । नेपालमा गठन गरिएको परिषद् भारत क्षेत्रको एक भाग नयाँ परिवार एकाइ रहेको विश्व मलयाली परिषद् भारत क्षेत्रका अध्यक्ष पद्म कुमारले जानकारी दिए ।
पछिल्लो समय नेपालमा पनि केरलाबासीहरुको उपस्थिति बढ्दै गइरहेको छ । यसलाई संगठित गर्दै सामाजिक कार्य गर्नका लागि नेपालमा पनि परिषद् गठन गरिएको भारत क्षेत्र प्रान्त संयोजक देवदास मेननले जानकारी दिए । नेपालमा फादर रुबी के.यु.को अध्यक्षतामा परिषद्को प्रान्त (एकाई) गठन गरिएको हो । जसको अभिभावकीय भूमिका चियरमेन जोनसन एस.ए.ले गर्नेछन् । यस्तै महासचिवमा रोबिन सी.एम.र कोषाध्यक्षमा श्रीकान्त एस रहेका छन् ।
यो टिमले नेपालमा विपन्न परिवारको शिक्षामा सहयोग गर्ने अध्यक्ष फादर रुबीले जानकारी दिए । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका व्यक्तिहरु नेपाल एकाईमा संलग्न रहेकाले सोही अनुरुप शिक्षा क्षेत्रमा काम गर्ने तयारी भइरहेको रुबीले बताए । उनले नेपालमा केरलाबासीहरु संगठित भएसंगै विभिन्न सामाजिक काममा सक्रिय हुन सहज हुनुको साथै विश्वस्तरमा रहेका संस्थाहरुसंग जोडिन सहज हुने विश्वास व्यक्त गरे । जसबाट नेपालमा शिक्षा क्षेत्रलाई सहयोग पु¥याउन महत्वपूर्ण आधार बन्ने फादर रुबीको भनाई छ । उनले नेपालमा बसोबास गर्ने केरलाबासीहरुलाई संगठित गर्न सुरु गरेको भन्दै हालसम्मल यहाँका शैक्षिक संस्थहरु, डाबर नेपाल, सामसुङलगायतका कम्पनीहरुमा केरलाबासी रहेको जानकारीमा आएको बताए ।
विश्व मलयाली परिषद् (डब्लुएमसी) गठन भएको ३० वर्ष पूरा भइसकेको छ । यसले तीन दशकको एकता र सेवा मनाइ रहेको छ । हालसम्म विश्वका ६० देशमा यसको प्रान्त (एकाई)हरु गठन गरिएको छ ।

विश्व मलयाली परिषद् (डब्लुएमसी) गठनको उद्देश्यः
विश्व मलयाली परिषद्को विचार भनेको मलयाली डायस्पोरा बीचको मित्रता र अन्तरसांस्कृतिक सद्भावलाई प्रवद्र्धन गर्ने विश्वव्यापी प्लेटफर्मको रूपमा काम गर्नु हो । जसले केरलाको प्रगतिशील विकासको लागि पुलको रूपमा काम गर्दछ र प्रवा मलयालीहरूको नयाँ पुस्तालाई आफ्नो सामाजिक–सांस्कृतिक पहिचान कायम राख्ने लचिलो परिवर्तन निर्माता बन्न मार्गदर्शन गर्दछ ।
यो संस्था टी. एन. शेषन, के.पी.पी. नाम्बियार, डा. बाबु पल जस्ता दूरदर्शी नेताहरूले सन् १९९५ मा न्यु जर्सीमा स्थापना गरेका हुन् । विश्व मलयाली परिषद् एक विश्वव्यापी पावरहाउसमा विकसित भएको छ । यो ३० वर्षको यात्रामा (डब्लुएमसी)ले मित्रता र सामाजिक–सांस्कृतिक पहिचानलाई बढावा दिँदै विश्वव्यापी प्रान्त मार्फत डायस्पोरालाई एकताबद्ध गरेको छ ।
यो संस्थाले घरबारविहीनहरूका लागि करुणा–निर्माण घरहरू, आर्थिक रूपमा पछाडि परेकाहरूका लागि शिक्षामा सहयोग, जोखिममा रहेका बिरामीहरूलाई सहयोग गर्ने लगायतका कामहरु गर्दै आइरहेको छ ।







