चितवनको पर्यटकीय नगरी सौराहामा यही पौष ११ गतेदेखि १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेको महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । महोत्सव स्थल बाघमारा चौरमा आन्तरिक व्यवस्थापन, खेलमैदान तयारी तथा स्टल निर्माणको काम तीव्र गतिमा भइरहेको महोत्सव संयोजक गुणराज थपलियाले जानकारी दिनुभयो ।
महोत्सव अन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्ती शृङ्गार प्रतियोगिता, हात्ती बनभोज, स्वास्थ्य शिविर, हात्तीको दिनचर्या सम्बन्धी जानकारी तथा पूजा कार्यक्रम सञ्चालन गरिनेछ । सरकारी र निजी क्षेत्रका गरी ८० वटा हात्ती महोत्सवमा सहभागी हुनेछन् । यसैगरी पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता, करिब ७० वटा हात्ती सहभागी शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन तथा पर्यटकलाई लक्षित गरी हात्ती, जीप र डुङ्गा सफारीको व्यवस्था गरिएको छ । महोत्सवले चितवनको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा संयोजक थपलियाले गर्नुभयाो ।







